माई भगवती बृद्धाश्रममा नवनिर्मित भवन उदघाटन

इलाम : इलाम सदरमुकाम गोदकस्थित माईभगवती बृद्धाश्रम परिसरमा नवनिर्मित आवास भवनको शनिबार एक समारोहबीच उद्घाटन भएको छ ।

भवनको उद्घाटन सो भवन निर्माणमा सहयोग गर्ने दाता राधा राईले गरेकी हुन् । आफ्ना स्वर्गीय पति मेजर दिलिप राईको स्मृतिमा पत्नी राधाले बृद्धाश्रममा ठोस कार्यमा सहयोग पुगोस् भनेर चार लाख रुपैंयाँ नगद प्रदान गरेकी थिइन् । सो रकममा अन्य स्रोतबाट पनि थप गरेर छ लाख ९० हजारको लागतमा तीनकोठे एक तले भवन तयार गरिएको बृद्धाश्रम प्रवन्ध समितिका सचिव धर्म गौतमले जानकारी दिए ।

बृद्धाश्रम प्रवन्ध समितिकी अध्यक्ष बिष्णु दहालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा समितिका सदस्य मानबहादुर खड्गीले स्वागत मन्तव्य राखेको थिए भने कोषाध्यक्ष कोमल निरौलाले आवास भवन निर्माणको लागत विवरण सहितको प्रतिवेदन पेश गरेका थिए ।

बृद्धाश्रमको मुख्य प्रवेशद्वार छेउमै रहेको सो आवास भवन बृद्धाश्रममा रहेको शिवमन्दिरका पुजारीको आवासका रुपमा प्रयोग हुने कुरा प्रवन्ध समितिले जनाएको छ । सहयोगका लागि दाताप्रति आभार व्यक्त गर्दै सभाध्यक्ष दहालले आगामी दिनमा बृद्धाश्रम परिसरमा बालउद्यान लगायतका सुविधा निर्माण गरिने जानकारी दिइन् ।

हाल आश्रममा तीन आवासीय भवन, एक भान्साघर, एक मन्दिर रहेको आजको चियाबारी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार