उपप्रमुखको यात्रामा अल्पसंख्यक थामी युवती

इलाम जोगमाई गाउँपालिकाका लागि माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार २५ वर्षीया युवती संगीता थामी ।

तोयानाथ भट्टराई

इलाम :  करिब एक हजार जनसंख्या रहेको थामी समुदायबाट माई जोगमाई गाउँपालिकाका लागि माओवादी केन्द्रबाट उपप्रमुखको टिकट हात पारेकी २५ वर्षीया युवती संगीता थामी अहिले घरदैलोमा व्यस्त छिन् । रेडियो पत्रकारितामा २ वर्षको अनुभव लिएकी उनी स्थानीय रेडियो नेपालवाणी एफएमको जागिर छाडेर उपप्रमुखको प्रतिस्पर्धामा उत्रेकी हुन् ।

थामीले उम्मेदवारको टिकट पाएपछि त्यसको जानकारी सहकर्मीहरूले भने सामाजिक सञ्जालबाट मात्र थाहा पाएका थिए । गाउँ घुम्न थालेको देस्रो दिन नयाँबजार गाउँमा भेटिएकी उनले गाउँका पिरमर्का सुन्दै अघि बढेको प्रतिक्रिया दिइन् ।

राजनीतिमा गहिरो आकर्षण भए पनि दलको कर्यकर्ताका रूपमा कहिल्यै नदेखिएकी उनले आदिवासी समुदायको हितका लागि सडकमा उठाएका एजेन्डा माओवादीसँग मिलेकाले उम्मेदवार बन्न स्वीकार गरेको उनको भनाइ छ । ‘सडकमा जाति, भाषा एवं महिला अधिकारका लागि धेरै करायौं, तर केही भएन’, उनले भनिन्, ‘मूलधारमै बसेर काम नगरेसम्म केही नहुने देखेर राजनीतिमा होमिएँ ।’

मानविकी संकायबाट पूर्वाञ्चलमै पहिलोपटक एमएम पढ्ने थामी युवतीको छवि बनाएकी थामीले समाजमा भोगेको दमनले विद्रोही चेत भरेको बताइन् । ‘धेरै गर्ने जोस छ, परिवर्तन हाम्रै जीवनमा सम्भव छ भनेर यता लागेकी हुँ’, उनले भनिन् । फोस्रा कुरा गर्ने तर काम नगर्ने धेरैलाई चिनेनी उनले परिवर्तन आफैबाट थाल्ने योजना रहेको जानकारी दिइन् ।

बाल्यकालमा छोरीलाई नपढाऊ भन्दै परिवारलाई दबाब दिने छिमेकीका कारण आफूमा केही गर्ने चेत भरिएको उनले बताइन् । इलाममा सम्भवतः कलिलो उम्मेदवारका रूपमा चर्चामा रहेकी उनले पढाइलाई अघि बढाउँदै समाज सेवामा लाग्ने योजना रहेको जानकारी दिइन् ।

सडकमा जाति, भाषा एवं महिला अधिकारका लागि धेरै करायौं तर केही भएन । मूलधारमै बसेर काम नगरेसम्म केही नहुने देखेर राजनीतिमा होमिएँ ।
संगीता थामी उपप्रमुखकी उम्मेदवार, जोगमाई गाउँपालिका

नेपाल थामी समाजकी जिल्ला उपाध्यक्ष समेत रहेकी थामीले अनुशासन र लगनकै कारण आफ्नो हातमा जित हातपर्ने दाबी गरिन् । विभेदको पीडा भोगेकी थामीले पढाइका क्रममा आफ्नै समुदायलाई गरेको अन्यायलाई समेत राम्ररी नियालेकी छिन् । थामी समुदायको आफ्नै भाषा, संस्कृति एवं पहिचान छ । पछिल्लो समय उक्त समुदायको पहिचान मेटाउने प्रयास भएको उनको भनाइ छ ।

अति सीमान्तकृत समुदायबाट अल्पसंख्यकको पहिचानमा सारेपछि सरकारले पनि अन्याय गरेको उनले बताइन् । थामीबाहेक इलाममा माईजोगमाई गाउँपालिका २ को वडाध्यक्षमा अम्बर थामीलाई एमालेले उम्मेदवार बनाएको छ । इलामको माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकामा थामी समुदायको बसोवास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार