पोहोर साल खडेरिले धुलो चटायो यस वर्ष पानी झरिले हिलोमा लट्पट्यायो
युद्धबहादुर बोहोरा
घुर्बिसे पञ्चमी : बिटे, ज्योति, होलुङ्गे, फारसे, एमएस, निले, झ्याले आदि प्रकारका आलुहरुको उद्गमबिन्दु मानिने क्षेत्र मद्येको इलाम देउमाइ नगरपालिका- १, धप्परटार एक शुद्ध अर्गानिक आलु उत्पादन क्षेत्र हो ।
पुसदेखि माघ महिना भित्रमा यसको रोपाइ हुन्छ भने जेठ र असारमा खन्ने थन्क्याउने समय हो । गत वर्ष आलुखेती सुरु भए पश्चात् छिटफुट पानी पर्नु बाहेक अन्तिम आलु निकाल्ने समय सम्म खडेरीले सतायो । परिणामस्वरुप उत्पादन न्युन भइ बिउ जोगाउन हम्मेहम्मे परि बिउको सिजनमा भाउ चुलिएर किन्नै नसकिने थियो । सरदर ४५/५० रुपैयाँ प्रति किलोग्राम पर्ने आलु एक सय भन्दा माथि भयो ।
उत्पादनको हिसाबले अघिल्लो साल भन्दा यो वर्ष बढि हुने संभावना रहे पनि प्रतिकुल मौसम (धेरै वर्षातका) कारण बोटैमा कुहिने र खुम्ल्याह किरा लाग्ने डर भएको धप्परटारका स्थानीय कृषक दावा शेर्पा बताउँछन् । उनका अनुसार बिटे, झ्याले, एमएसको उत्पादन राम्रो हुने गर्दछ ।
शहर बजारमा डेराबसि पढ्ने विद्यार्थीलाई तरकारीका लागि खुद्रा किन्न समेत ग्राहकहरु आउने बताउँछ्न् । तीन दशक भन्दा बढी आलुखेतीमा अनुभव भएका शेर्पा भन्छन्, ‘झ्याले आलु सेतो, लाम्चो, सुकिलो र हेर्दै खाउखाउ लाग्दो हुन्छ ।’ हालको भाउ बिक्री अनुसार राम्रो उत्पादन हुँदा वार्षिक १ देखि २ लाख सम्म कमाइ हुन्छ र आलु खनीसके पछि त्यस ठाँउमा बेमौसमी सब्जी मटर, बन्दाकोपि र मुला जस्ता तरकारी लगाइने उनको भनाइ छ।त्यस ठाँउमा अन्य कृषकहरु पनि खेती गर्ने गर्दछ्न् ।
समुन्द्र सतह देखि लगभग १६०० मिटर उचाईमा इलामका रक्से धप्परटार देउराली, राँके मैदाने र यस भूगोलसँग जोडिएका पाँचथर फाल्गुनन्द गाउँपालिका अन्तर्गत पौवा, मालिङ्गिनी, चिम्फुला चिलिङ्गदेन, जौबारि र सिङ्हाङ लगायतका क्षेत्र व्यावसायिक अर्गानिक नगदे खेती गरिने स्थान हुन् ।
स्थानीय ग्राहकको आवश्यकता अनुसार बिक्री पछि घुर्बिसे पन्चमी, राँके र धप्परटार बजारका व्यापारीले संकलन गरि फिक्कल बजार र झापा चारआली स्थित सब्जि भण्डार तथा बिक्रि केन्द्रमा लैजाने व्यापारी लाक्पा शेर्पाले जानकारी गराए ।
प्रशस्त उत्पादन हुँदा गाउँघरबाट कृषक स्वयंले आलु खरिद गर्न अनुरोध गर्दै पसलमा ल्याउने गर्दथे भने आजकाल एक आर्कोमा लुच्छाचुडी गरि किन्नेहरुको धुइरो लागेको राँकेमैदानेका व्यापारी जगत पाण्डे बताउनु हुन्छ । यी क्षेत्रमा थप कृषि विशेषज्ञ मार्फत आवश्यक तालिम हुनु र उन्नत जातका बीउबिजन सहित सुबिधा पाउने हो भने अझै उत्पादन बढ्ने र कृषकमा पनि जोस जागर थपिने फाल्गुनन्द-४,चिलिङ्देनका अगुवा कृषक टीका नेम्बाङको भनाइ छ ।