युद्धबहादुर बोहोरा
घुर्बिसे पन्चमी : यस पटकको स्थानीय तहको निर्वाचनमा अछाममा एउटै नामको व्यक्ति उम्मेदवार बन्ने क्रम बढेको छ ।
तुर्माखाँद गाउँपालिकाको प्रमुख पदमा तीन दलले टिकट दिएका व्यक्ति, वडा नम्बर ३ भैरवस्थानको वडा अध्यक्ष तथा वडा सदस्य गरी पाँच उम्मेदवारको नाम पदमबहादुर बुढा भएको खुलेको छ ।
नेकपा एमालेले तुर्माखाँद गाउँपालिकाको प्रमुखमा २०५४ को स्थानीय निर्वाचनमा भैरवस्थान गाविसबाट अध्यक्ष निर्वाचित पदमबहादुर बुढालाई नै टिकट दिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गाउँपालिका प्रमुखमा २०५४ को निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचति पदमबहादुर बुढालाई नै टिकट दिएको छ ।
अर्को दल नेपाल मजदुर किसान पाटीले पनि भैरवस्थानकै पदमबहादुर बुढालाई नै गाउँपालिका प्रमुखको टिकट दिएको छ। यस्तै नेकपा एमालेले भैरवस्थान वडाको अध्यक्ष पदको उम्मेदवारमा पनि पदमबहादुर बुढालाई नै टिकट दिएको छ ।
सोही वडाको वडा सदस्य पदमा नेपाली कांग्रेसले टिकट दिएका खुल्लातर्फका सदस्यका उम्मेदवारको नाम पनि पदमबहादुर बुढा नै रहेको छ ।