ताप्लेजुङ : गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ जिल्लामा नौ जना कैदीलाई रिहा गरिएको छ ।
कारागार भित्र राम्रो काम गरेको र सुध्रिएको पाएपछि जिल्ला कारगारले केन्द्रमा सिफारिसको अधारमा मन्त्रिपरिषदको निणर्य अनुसार सजाय माफी गर्दै रिहा गरेको जनाएको छ । जिल्लामा डाका गर्ने, ज्यान मार्ने उद्योग तथा चोरी गरी जम्मा ८ कैदीलाई कैद मिनाहा गरेको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए ।
छुट्नेमा डाका मुद्दाका फुङलिङ नगरपालिका–२ का २६ वर्षका नविन तामाङ, त्यही ठाउँका डाका मुद्दाका २३ वर्षका हेमबहादुर मादेन, फुङलिङ नगरपालिका–२ डाका मुद्दाका २५ वर्षका बादल भनिने मनकुमार मादेन, मोरङको पथरी घर भएका डाका मुद्दाका २७ वर्षका अनित भन्ने रामबहादुर लिम्बु, हाङपाङ–७ का चोरी मुद्दामा कैद सजाय भोगीरहेका २४ वर्षका विनोद आङबुहाङ (लिम्बु) लाई गणतन्त्र दिवसको अवसरमा सरकाले ६० प्रतिशत कैद मिनाहा गरी जेलमुक्त गरेको हो । त्यस्तै ताप्लेजुङकै चाँगे–८ का ज्यानमार्ने उद्योगमा जेल परेका ३४ वर्षका पेम्बा शेर्पा, पनि छुटेका छन् ।
त्यस्तै जिल्ला कारागारबाट छुट्नेहरुमा मामाङ्खे २ घरभएका ज्यानमार्ने उद्योग मुद्दाका २४ वर्षका संजिव लिम्बु, हाङपाङ–९ का ज्यानमार्ने उद्योगका २० वर्षका विकल्प याक्सो र हाङपाङ–८ का ज्यानमार्ने उद्योगका २० वर्षका चुर्से भनिने सुरेन्द्र माबोहाङलाई कैद मुक्त भएका हुन् । जिल्ला कारागारमा अहिले ९१ जना कैदी छन् ।