नयाँ बुलन्द
इलाम : इलाममा साना ठूला दल गरी चार जना महिलाले अध्यक्ष पदका उम्मेद्वारी पाएका छन् । अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले देउमाई नगरपालिका वडा नम्बर ९ मा चन्द्रावती थापा, चुलाचुली गाउँपालिका ४ मा शुभमाया राईलाई उम्मेद्वार बनाएका छन् ।
यस्तै माइनगरपालिका ७ मा राजकुमारी तामाङ्गलाई र नेकपा एमालेले इलाम नगरपालिका १ मा अम्बिका गौतमलाई अध्यक्षमा उम्मेद्वार बनाएका छन् ।
बाँकी रहेका तहमा महिलालाई उपप्रमुख र सदस्य पदमा सिमित बनाइएको छ । एमालेले महिला सहभागिता ४० दशमलव ६५ प्रतिशत गराएको भए पनि प्रमुख पदमा भने एक जनालाई मात्र उम्मेद्वारी दिएको छ ।
१० स्थानीय तह रहेको इलाममा नेकपा एमाले इलामले १० वटै तहमा उम्मेद्वार छनौट सकेको छ । नेकपा माओवादी केन्द्रले ४ वटा वडामा मात्र उम्मेद्वार चयन गर्न बाँकी रहेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले जानकारी दिए । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेद्वार छनौट प्रकृया अन्तिम चरणमा पुर्याएका छन् ।
सबै दलले जेठ १८ गतेसम्ममा टुङ्गो लगाउने बताएको छ ।
१७ वटा दल दर्ता रहेको इलाममा वडाध्यक्षमा पार्टी ४ जनाको मात्र उम्मेद्वारी हुनु सन्तोषजनक नरहेको नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसदकी सांसद सुजता परियारले प्रतिक्रिया दिइन् । उनले पुरुषले प्रमुख पद दिन नचाहने र हामी काम गर्न सक्छौँ भनेर महिलाले अडान लिन नसकेका कारण प्रमुख पदमा महिला सहभागीता एकदमै न्युन रहेको बताइन् ।
४ नगरपालिका र ६ गाउँपालिका सहित १० तह रहेको इलाममा एक सय ७२ जना महिला जनप्रतिनिधि छनौट हुनेछन् ।