सुजता सुनुवार
इलाम : इलाममा एमआरपी (राहादानी) बनाउनेको सङख्या घट्दै गएको पाइएको छ । जिल्लामा तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पछिल्लो समय मेसिन रिडेबल पासपोर्ट (एमआरपी) राहादानी बनाउनेको सङख्या घट्दै गएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा एमआरपी बनाउनेको सङख्या गत दुइ आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षाको १० महिनामा चार हजार पाँच सय ७४ जनाले कमी आएको हो । यी मध्येबाट तीन हजार आठ सय २६ जनाले ध्रुत सेवाबाट राहादानी बनाएका हुन् ।
कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७१/०७२ मा आठ हजार आठ सय १२ जनाले राहादानी बनाएका थिए । यस्तै आव ०७२/०७३ मा सात हजार पाँच सय ७२ जनाले राहादानी बनाएका थिए भने चालु आवको १० महिना भित्रमा ४ हजार ६ सय ३६ जनाले मात्र राहादानी बनाएका छन् । यसैगरी द्रुत सेवामार्फ आव ०७१/०७२ मा ४ हजार ९ जनाले राहादानी बनाएका थिए ।
यस्तै आ. व. ०७२/०७३ मा एक हजार ९ सय ६५ जनाले राहादानी बनाएका थिए भने चालु आ.व.को १० महिनाभित्रमा एक हजार एक सय ४८ जनाले द्रुतसेवा मार्फ राहादानी बनाएका छन् ।
एमआरपी लिनेमा जिल्लाका चुरे भेगका युवायुवतीहरु बढि मात्रामा रहेका छन् । यसरी राहदानी बनाउनेहरु सबै विदेशमा कामदारकै रुपमा नजाने अन्य प्रयोजनका लागि पनि बनाउने गरेको कार्यलयको भनाई छ ।
जिल्लामा एमआरपीबाट आर्थिक बर्ष०७२/०७३ मा तीनकरोड ९३ लाख ९७ हजार ५ सय रुपैंयाँ राजस्व संकलन भएको थियो भने चालु आ.व.को हालसम्ममा दुइ करोड २८ लाख ६० हजार रुपैंयाँ संकलन भएको प्रशासनका लेखापाल राजु चौधरीले बताए ।