युद्धबहादुर बोहोरा
घुर्बिसे पञ्चमी : पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमीमा वर्थिङ सेन्टर सुविधा सहितको स्वास्थ्य चौकी भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
शहरी विकाश अन्तर्गत भवन निर्माण डिभिजन कार्यलय इलामबाट उपलब्ध दुई करोड २७ लाख ६४ हजार रुपैयाँको लागतमा सुरु भएको भवन निर्माणको काम अन्तिम चरणमा छ ।
गत वर्ष २०७३ जेष्ठ २७ देखि काम सुरू भएको भवन निर्माणको काम यही मसान्त सम्ममा सम्पन्न गरेर सम्बन्धित संस्थालाई हस्तान्तरण गरिने तयारी भइरहेको योजनाका साइड इन्चार्ज अजय फियाकले जानकारी दिए ।
२१ मिटर लम्बाई र ११ मिटर चौडाई भएको उक्त भवन दुईतले छ । पहिलो तलामा १२ कोठा र दोस्रो तलामा ८ कोठा रहेको छ । मुख्य भवनका साथमा ८ कोठे छुट्टै शौचालय बनाइएको छ ।
झ्याल, ढोका, रङ पेन्टिङ, रेलिङ्ग र अन्य सामान्य कामहरु मात्र गर्न बाँकी रहेको फियाकले जानकारी दिए ।
वर्थिङ सेन्टर सहितको स्वास्थ चौकी भवन निर्माणका लागि स्वास्थ चौकी अहेव गोविन्द दुलालको विशेष पहलमा स्थानीय समाजसेवी कुलबहादुर चेम्जोङले ३ रोपानी जग्गा नि:शुल्क प्रदान गरेका थिए । थप १ रोपनी जग्गा फाक्तेप स्वास्थ चौकीले आफैं खरिद गरि ४ रोपनी जग्गामा भवन निर्माण भइरहेको अहेव दुलाले जानकारी दिए ।
भवन मापदण्ड बमोजिम निर्माणका लागि भगिरथ चेम्जोङको अध्यक्षतामा दानबहादुर अधिकारी, बिजय चेम्जोङ (कनक सिंह), गोविन्द दुलाल सहितको अनुगमन समिति गठन गरिएको छ ।
भवन निर्मा भइ काम सुचारु भएपछि आसपासका सयौ महिलाहरुले राहत पाउने अपेक्षा गरिएको छ । त्यहाँ फाल्गुनन्द गाउँपालिकाका नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्देन, फाक्तेप आङ्सारङ र इलाम फोकथुम गाउँपालिकाका फाकफोक र आम्चोकका विरामीहरुले समेत स्वास्थ सेवा सुविधा लिन पाउने भएका छन् ।
यस स्वास्थ चौकीमा हाल हेल्थ असिस्टेन्ट १, अहेव २, अनमी २ र कार्यालय सहायक १ गरि ६ जना स्टाफ रहेका छन् ।