नयाँ बुलन्द
इलाम : सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिने आवसीय तालिममा इलाममा सुरु भएको छ ।
जिल्ला समन्वय समिति इलामको सहयोगमा मेलमिलाप परिषदमा सूचिकृत संस्था मानव अधिकार मञ्च नेपाल इलामको आयजनोमा तालिम सुरु भएको हो ।
तालिममा इलाम सन्दकपुर गाउँपालिका वडा नम्बर १ (साविकका माइपोखरी गाविस) र वडा नम्बर ५ (साविक जमुना गाविस) का २२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । तालिममा सर्वोच्च अदालतको मेलमिलाप परिषदले तयार गरेको पाठ्यक्रमका आधारमा विभिन्न विषयमा छलफल हुनेछ ।
तालिममा विवाद र यस्को स्वरुप, विवादका श्रोत तथा कारण, विवाद बढ्ने चरण, परम्परागत, औपचारिक तथा अनौपचारिक विवाद समाधानका संयन्त्र, विवाद समाधानका वैकल्पिक उपायहरु, संवाद, मेलमिलाप सम्बन्धी केही देशका अभ्यासहरु, मेलमिलापको अवधारणा, मेलमिलापकर्ताको गुण तथा भूमिका, सञ्चार सीप, सक्रिय सुनाइ सीप, मेलमिलाप प्रक्रियामा सहजीकरण सीप, सोधपुछ वा प्रश्न गर्ने सीप, मेलमिलाप प्रणालीका आधारभूत अवधारणा लगायतका विषयमा छलफल हुनेछ ।
तालिमका सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवे र सहजकर्ता योगराज सापकोटाले सहजीकरण गरिरहेका छन् ।
तालिम उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी जिल्ला न्यायाधीस नवराज दाहालले सहभागीहरुलाई मेलमिलापकर्तादेखि न्यायाधीससम्म बन्ने अवसर प्राप्त भएको भन्दै तालिमको भरपुर उपयोग गर्न सुझाव दिए । उनले सामुदायिक मेलमिलाप कार्यक्रम अदालतसँग जोडिएको विषय भएकाले महत्वका साथ लिन आग्रह गरे ।
स्थानीय तहमा न्यायीक समिति सञ्चालन र न्याय निरुपणका लागि तालिम प्राप्त मेलमिलापकर्ता उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी राज्यले कार्यक्रम ल्याएको उल्लेख गर्दै जिल्ला न्यायाधीस दाहालले कार्यक्रमले अदालतलाई प्रत्यक्ष सघाउ पुर्याउने धारणा राखे । उनले त्यसका लागि सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरुलाई अग्रह गरे ।
विशेष अतिथी स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले स्थानीय स्तरमा हुने सानातिना झैझगडा र विवादहरुको त्यही समुदायमा मेलमिलापकर्ताहरुको सहजीकरणमा दीगो समाधान गरी समाजमा शान्ति, सौहार्द र भाइचारमा अभिवृद्धि गर्न मेलमिलाप कर्ताहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कानुनी व्यक्तिको अभाव रहेको अवस्थाको महसुस गरेर नै राज्यले त्यसलाई व्यवस्थापन गर्न सामुदायिक मेलमिलाप कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै उनले राज्यको अभिभारा सबै सहभागीहरुलाई आग्रह गरेका थिए ।
मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष थेवेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत र औचित्यको पुष्टि जिल्ला समन्वय समिति इलामका सामाजिक विकास अधिकृत राम योङहाङले गरेका थिए । कार्यक्रमको उद्घाटन सामूहिक द्विप प्रज्जलन गरी गरिएको थियो ।