काठमाडौंमा बदर मत अत्यधिक

काठमाडौं : निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई निक्कै प्राथमिकता दिएको बताए पनि राजधानी काठमाडौंमै बदर मतको संख्या अत्यधिक पाइएको छ ।

सोमबार मध्यान्हदेखि सुरु भएर आज बिहानसम्म ६११ मतको गणना सम्पन्न भएको छ । मतगणना प्रक्रिया जति सुस्त देखिएको छ, त्यस्तै अर्को समस्या काठमाडौं महानगरमा बदर मतको संख्या अत्याधिक देखिन्छ ।

काठमाडौंमा ६११ मत गणना गरिँदा ६७ मत पूर्ण बदर भएको छ भने ११९ मत आंशिक बदर भएको छ । स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष र चार सदस्यसहित सात जनालाई मतदान गर्नुपर्ने भएकाले मतदाता धेरै झुक्किएको बताइन्छ ।

सामान्यतः अन्य जिल्लाको तुलनामा शिक्षित मतदाता बसोबास गर्ने भनिएको काठमाडौंका अवस्था यस्तो रहँदा अन्य जिल्लाहरुको अवस्था सहजै अनुमान लगाउन सकिन्छ ।

काठमाडौं महानगरपालिकामा ६११ मतको गणना हुँदा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले १७२ मतसहित अग्रता लिएका छन् । त्यस्तै साझा पार्टीका किशोर थापाले १२० मतसहित दोस्रो र कांग्रेसका राजुराज जोशी १०१ मतसहित तेस्रो स्थानमा छन् । विवेकशील नेपाली दलकी रञ्जना न्यौपानेले ८६ मत प्राप्त गरेकी छन् ।

पहिलो चरणका निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा अहिले मतगणना भइरहेको छ । धेरैजसो स्थानीय तहमा बदर मत नै दलहरुका लागि टाउको दुखाइ बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार