सुजता सुनुवार
इलाम : इलामको सन्दकपुर गाउँपालिकाका तारामणी खतिवडाले व्यवसायिक भूइस्याउ उत्पादन गर्न थालेको ९ वर्ष भयो । सुरुमा विरुवा मात्र बेचेर एक लाख ५० हजार कमाई गरेका खतिवडाले अहिले बजारको समस्याका कारण अन्य खेती गर्न थालेका छन् ।
जिल्लामा भुर्इस्याउको उत्पादन बढेपनि आवश्यक बजार नहुँदा समस्या आएको व्यावसायिक कृषक खतिवडाले बताए। इलाम नगरपालिका-३ का दिरगमाया सुनुवारको पनि उस्तै समस्या छ । राम्रो बजार पाइने र रोप्दा पनि कम मेहनत गर्नुपर्ने भएकाले उत्पादन सुरु गरेपनि अहिले भुइस्याउको व्यवसाय उँनलाई निल्नु न ओकेल्नु भएको छ । ‘बेचौँ भने किन्ने मान्छे छैन, नबेचौँ दुःख गरेर रोपेको बालीको माया लाग्छ” गाईलाई खोले बनाउँदै गरेका सुनुवारले काट्दै गरेको स्याऊ देखाउँदै भने ।
प्रचार प्रसारको अभावले उत्पादन गरिएको भूइस्याउले वजार नपाएको माङ्गसेबुङ्ग गाउँपालिकाका व्यवसायी किशोर राईले बताए ।पहिले ३५ रुपैया केजीले बिक्री गरेको भएपनि अहिले भने १० रुपैँयामा बिक्री गर्नुपरेको सुनाउँदै स्याउले बजार नपाएको उनले बताए ।
राईले ४ वर्ष अगाडी तीन हजार लगानी गरेर भुर्इ स्याउ रोपेका थिए । एक रोपनी जग्गाबाट सुरु गरेको खेती बढाएर तीन रोपनीसम्म रोप्दा राम्रो मूल्य पाएको स्याउको अहिले बजार नै नभएको राइको भनाई छ । राले भने ‘बिक्री नभएका कारण गाईवस्तुलाई खुवाएँ । गाउँगाउँमा सित्तैमा बाडेँ कतिले रक्सी समेत बनाए ।’
माइजोगमाई गाऊँपालिकाका कृषक लक्ष्मण रेग्मीले पनि पाँच वर्षअघि एक सय ७५ रुपैयामा आधा केजी बिरुवा लिएर रोपेका थिए । ५ वर्ष अगाडी यसको माग धेरै भएकोले व्यावसायिक रुपमा नै खेती गर्ने लक्ष्य लिएर रोपेको उनले बताए । ‘बारीमा कहि कतै रहेको बिउ जोगाउने भनेर मात्र रोप्ने गरेको समेत रेग्मीको भनाई छ ।
इलामका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकामा यसको खेति गरिन्छ । कृषि विकास कार्यलयमा भने जिल्लामा कति क्षेत्रफलमा यसको खेती गरिन्छ भन्ने तथ्याङ्क छैन । इलाममा यस्को खेती कम गरिने भएकोले यसको अध्ययन नै नगरिएको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथा शाहको भनाइ छ ।