गच्छदारसहित तीन मन्त्रीले सपथ लिए
काठमाडौं : नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष विजयकुमार गच्छदारसहित तीन मन्त्रीले सोमवार सपथ लिएका छन् ।
राप्रपा सरकारबाट बाहिरिएपछि उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालय पाएको लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री तीन जनाले सोमवार साँझ राष्ट्रपति भवन शितल निवासमा सपथ लिएका हुन् ।
गच्छदारले उपप्रधानसहित संघीय तथा स्थानीय विकास मन्त्रीको सपथ लिएका छन् । लोकतान्त्रिक फोरमका जितेन्द्र देवले पर्यटन तथा गोपाल दहितले भूमिसुधार मन्त्रीको सपथ लिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन आउन ६ दिन मात्रै बाँकी रहँदा राप्रपाले छाडेर रिक्त रहेको मन्त्रालयको जिम्मा गच्छदारलाई दिइएको हो ।
यसअघि राप्रपाले पाएका मन्त्रालय गच्छदारको पार्टीले पाएको हो । राप्रपाका थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, विक्रम पाण्डे भूमिसुधार र दिलनाथ गिरी पर्यटन मन्त्री थिए ।कैलालीको टिकापुर घटनामा परी बन्दी बनाइएका आफ्ना कार्यकर्तालाई रिहा गर्ने सहमतिपछि सरकारमा सहभागी भएको फोरम लोकतान्त्रिकले बताएको छ ।
गच्छदारको १२ वर्षे सत्ता राजनीति
२०४६ सालको आन्दोलनपछि बनेका सरकारमा गच्छदार निरन्तर कुनै न कुनै मन्त्री हुँदै आएका छन् । १२ वर्षसम्म उनी मन्त्री भएका उनी सबैजसो पार्टीको सरकारको स्वाद लिए । १२ वर्षमा गच्छदार १ सय ४२ महिना मन्त्री भएका छन् । पहिलो पटक उनी तत्कालिन कांग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागी थिए ।
२०४८ सालमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश गरेका गच्छदार चार पटक उपप्रधानमन्त्री भइसकेका छन् । २०६६ सालमा उनी पहिलो उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री भएका थिए । उनी ६ पटक मात्रै भौतिक योजना मन्त्री भए भने एक पटक गृह र दुई पटक जलस्रोतमन्त्री भएका थिए ।२०५६ सालमा पर्यटन मन्त्री भएका गच्छदार अहिले उपप्रधान तथा स्थानीय विकास मन्त्री हुने अवसर पाएका छन् ।
एमाले अध्यक्ष केपी ओली सरकार विस्थापित भई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा आउने गच्छदारले कसरत गर्दै आएका थिए ।सरकारमा सहभागी हुने विषय झण्डै झण्डै विभाजित हुन लागेको गच्छदार नेतृत्वको पार्टीमा पछिल्लो पटक थ्रेस होल्डका कारण साना पार्टीहरु पनि मिसिन आइ आइपुगेका छन् । गच्छदार नेतृत्वको पार्टीको हाल संसदमा १५ सिट रहेको छ ।
रातोपाटीबाट