नयाँ बुलन्द
इलाम : सरकारले प्रदेश नम्बर १ सहित चार वटा प्रदेशमा स्थानीय तह निर्वाचनको मिति जेठ ३१ लाई सारिएपछि निर्वाचन आयोगले स्थानीय तहमा तोकिएका निर्वाचन अधिकृतहरुलाई पनि पूर्ववत आ-आफ्नै कार्यालयमा फर्काएको छ ।
आयोगले निर्वाचन अधिकृतको कार्यालय पनि नखोल्न भनेको छ । आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालयलाई मात्र यथावथ राख्न भनेको छ ।
यसअघि इलाममा देउमाइ नगरपालिका र माइ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयले इलाममा मतदाता शिक्षा कार्यक्रम स्थगित गरेको छ । कार्यालयले जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई मंगलबार पत्राचार गरि गाउँ-गाउँमा चलिरहेको मतदाता शिक्षा स्थागित गरिएको जनाएको छ ।
वैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गरि सञ्चालित मतदाता शिक्षा कार्यक्रम जेठ ३१ मा निर्वाचन हुने भएपछि तत्कालकालागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए ।