नयाँ बुलन्द
काठमाडौं : इलामबाट प्रकाशन भईरहेको अनलाइन पत्रिका नयाँ बुलन्द डट कम नेपालमा दर्ता भएको १५ औं तथा पूर्वको पहिलो अनलाइन (इन्टरनेट न्यूज पोर्टल) बनेको छ ।
नयाँ बुलन्द डट कम मंगलबार (१२ वैशाख) देखि नेपाल सरकारको सूचना विभागबाट दर्ता भएर सञचालन हुने अनलाइन सञ्चारमाध्यमको सूचिमा परेको हो । सूचना विभागले मंगलबार नयाँ बुलन्द डट कमलाई दर्ता नम्बर १५ भएको प्रमाणपत्र प्रदान गरेको हो ।
बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेडद्वारा सञ्चालित यस अनलाइन २२ वैशाख २०७३ बाट सञ्चालनमा आएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयबाट भने गत १३ चैतमा बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेडलाई दर्ता प्रमाणपत्र दिइएको थियो । कम्पनी रजिस्ट्रारबाट प्रमाणपत्र प्राप्त भएपछि आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय इलामबाट स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र लिएर प्रेस काउन्सिलमा सूचिकृत गरी अनलाइन दर्ताका लागि १५ चैतमा आवेदन दिएको थियो ।
आवश्यक सबै प्रक्रिया पूरा भएपछि सूचना विभागले नयाँ बुलन्द डट कमलाई मंगलबार प्रमाणपत्र प्रदान गरेको हो । इलाम नगरपालिका-३ मा कार्यालय रहेको यस अनलाइनका सम्पादक रामकुमार लिम्बू (योङहाङ) रहेका छन् ।
भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै स्थानीय स्तरका सत्य, तथ्य र निष्पक्ष सूचना आम जनतासामू पुर्याउने उद्देश्यका साथ अनलाइन सुरु गरिएको सम्पादक योङहाङले जानकारी दिए । विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा नयाँ बुलन्द सधैं पहरेदार बन्ने सम्पादक योङहाङले बताए ।
नेपालमा यसअघि अनलाईनलाई प्रेस काउन्सिलले सुचिकृत गर्दै आएको थियो । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ जारी भएपछि सूचना विभागले अनलाइन दर्ता गर्न थालेको हो । सुचना विभागले अनलाइनलाई सोमबारबाट विधिवत रुपमा दर्ता गर्न थालेको थियो ।