दलित समुदायका ९६ लाई स्वरोजगार बनाउने

सुजता सुनुवार

इलाम : इलामका बिपन्न दलित समुदायका ९६ जनालाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सुरु भएको छ ।

उद्यमशिलता सम्बन्धि तालिम दिएर स्वरोजगार बनाउनका लागि घरेलु तथा साना उद्योग बिकास समिति इलामले दलित समुदायलाई लक्षित गरेर कार्यक्रम सुरु गरेको हो ।

कार्यालयले चालु आर्थिक बर्षबाट जिल्लामा भगत सर्वजीत सिप प्रबद्र्धन कार्यक्रम अन्तरगत स्वरोजगार कार्यक्रम सुरु गरेको हो ।

जिल्लामा पहिलो पटक सुरु गरेको यस कार्यक्रमबाट पहिलो बर्ष ९६ जनालाई बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिई उनीहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।

बरिष्ठ उद्योग अधिकृत नवीन पौडयालका अनुसार कार्यक्रम सुर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माई नगरपालिका सहित चुलाचुली गाउँपालिका र माइजोगमाई गाउँपालिकाको नामसालिङ्गमा सञ्चालन भैरहेको छ ।

ती ठाउँहरुमध्ये सुर्योदय, देउमाईनगरपालिका र माईनगरपालिका सहित देनपाको चमैताका जम्मा एकसय २५ जना बिपन्न दलित समुदायका सदस्यहरुलाई बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिएको बताइएको छ ।

उद्यमशिलता तालिम लिएकाहरुको माग र आवश्यकताको आधारमा सिपमुलक तालिम दिइनेछ । भगत सर्वजीत सिप प्रबद्र्धन कार्यक्रम अन्तर्गत कार्यालयमा अहिले बिशेष गरेर सिलाई कटाई, ब्यूटिपार्लर, मोबाइल मर्मत, कृषि औजार निर्माण, कुखुरापालन, हाउस वाइरिङ्ग, मोटर ड्राइभिङ्ग, मौरीपालन लगायतका तालिमहरुको माग बढि रहेको पौडयालले जानकारी दिए ।

यस्तै उद्यमशिलता सम्बन्धि तालिम लिएर उद्योग खोल्न चाहने बिपन्न दलित सदस्यलाई घरेलु कार्यालयले निशुल्क रुपमा उद्योग दर्ता गर्ने र उद्योग स्थापना एबं प्रबद्र्धनका लागि ८० प्रतिशत छुटमा आवश्यक मेशिनरी औजार खरिद गरीदिने भएको छ ।

कार्यक्रम सञ्चालनका लागि २९ लाख २६ हजार रुपैंयाँ बजेट प्राप्त भएको छ भने मेसिनरी औजार खरिदका लागि ३ लाख २० हजार रुपैंयाँ प्राप्त भएको उद्योग अधिकृत पौडयालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार