पाँचथर : ६ महिनादेखि छोरी बलात्कार गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।
१४ वर्षकी साइली छोरीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय व्यक्ति पक्राउमा परेका हुन् । उनी विरुद्ध जबर्जस्ती करणी तथा हाड्नाता करणी सम्बन्धि मुद्धा दर्ता भएको छ । यस मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
गत शनिबार साँझ मदिरा सेवन गरेर घर आएपछि उनले छोरी बलात्कार गरेको र पीडितले यस घटना कान्छी बहिनीलाई भनेपछि रहस्य खुलेको प्रहरीले जानकारी दियो। जिल्ला प्रहरी प्रमुख डीएसपी नकुल पोख्रेलका अनुसार पीडित बालिकाको आफन्तले दिएको उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको हो। मदिरा सेवन गरी आएपछि बुबाको यौन इच्छा पुरा नगराउँदा कुटपिट पनि सहनु पर्ने बयान पीडित बालिकाले प्रहरीसामु दिएको डीएसपी पोखरेलले बताए।
बालिकाको स्वास्थ्य परीक्षण गराउँदा जिउमा निलडाम पनि देखिएको डीएसपी पोख्रेलले बताए। बालिकालाई स्वास्थ्य परीक्षणपछि घर पठाइएको छ। उनी अहिले हजुरबुबा र हजुरआमासँग बस्दै आएकी छिन्। पीडित बालिकाकी आमा वैदेशिक रोजगारीको क्रममा दुबईमा छिन्।