काठमाडौ : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात दलमध्ये ५ दलबीचमा एकीकरण हुने भएको छ । बुधबार राती अवेरसम्म भएको छलफलले एकीकरणको निर्णय भएको हो ।
राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीबीच एकीकरण गर्ने निर्णय भएको हो ।
अनिल झा नेतृत्वमो नेपाल सद्भावना पार्टी एकतामा समावेश हुने कुरा भएपनि राती बसेको बैठकमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाको उपस्थिति थिएन ।
बैठक स्रोतका अनुसार अनिल झासँग फोनमा कुरा भएको थियो र विहिबार बिहान पुनः कुरा हुने कुरा थियो । तमसपाका महासचिव केशव झाका अनुसार हाललाई झासँग कुरा नटुंगिएको कारण अहिले ५ दल मात्र एकीकरण प्रक्रियामा सहभागी हुनेछन् ।
आज १ बजे कालिकास्थान रहेको अमृतभोग पार्टी प्यालेसमा एकीकरणको घोषणा हुनेछ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि नयाँ शक्ति पार्टीसँग एकीकरण गर्न लागेको कारण यो एकीकरणमा सहभागि नभएको बताइएको छ ।
पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’
जवलाखेलस्थित एक नेताको घरमा भएको बैठकमा पार्टीको नाम, झण्डा, चुनाव चिन्ह सबै नयाँ निर्णय गरेको छ । एकीकृत नयाँ पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने छ ।
महाधिवेशन नहुन्जेलसम्म पार्टी अध्यक्ष मण्डलबाट सञ्चालन हुनेछ । छवटै पार्टीका अध्यक्षहरुको एउटा अध्यक्ष मण्डल रहने जनाइएको छ ।
अन्य पदाधिकारीहरुको टुगों पछि लगाउने सहमति पनि भएको छ ।
महाधिवेशन अघिसम्म यस्तो हुनेछ नयाँ पार्टीको सांगठनिक ढाँचा
– अध्यक्ष मण्डल गठन हुनेछ जसमा सबै पार्टीका अध्यक्षहरु रहनेछन् ।
– उच्च स्तरीय राजनीतिक समिति गठन हुनेछ जसमा अध्यक्ष, वरिष्ठ नेता, सह अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सम्मिलित हुनेछन् ।
– केन्द्रीय सचिवालयमा सबै महासचिव, सह महासचिव समावेश हुनेछन् ।
– केन्द्रीय कोष विभागमा सबै कोषाध्य़क्षहरु रहनेछन् ।
– संसदीय दलमा सबै पार्टीका सांसद हुनेछन् भने महेन्द्र यादव संसदीय दल नेता हुनेछन् ।– प्रचा
र प्रसार विभागमा सबै पार्टीका प्रवक्ता र सह प्रवक्ता हुनेछन् ।
-राष्ट्रियय परिषदमा सबै केन्द्रीय समिति सदस्य, विभाग प्रमुख र भातृ संगठन प्रमुखहरु रहनेछन् ।
एक अर्को स्रोतका अनुसार यो एकीकरणमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल सहभागि नभएको कारण सो पार्टीमा तीब्र असन्तुष्टि बढेको छ ।
सो पार्टीबाट थुप्रै नेताहरु पार्टी छाडेर निस्किने तयारी भइरहेको पनि बुझिएको छ ।
यसअघि, तमलोपा, सद्भावना र समाजवादी फोरमबीच पनि एकताको प्रयास भएको थियो । तर, त्यसले मूर्त रुपमा पाउन सकेन । एकीकरणपछि अध्यक्ष को हुने भन्ने विषयमा उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोबीच कुरा नमिल्दा लामो प्रयासले कुनै नतिजा दिनसकेको थिएन ।
यादव नयाँ शक्तिसँग एकताको प्रयासमा लागेपछि ६ पार्टीका नेताहरुले एकताका लागि शीर्ष तहमा छलफल गरेका थिए । आजको छलफलपछि नेताहरु पार्टी एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।