नयाँ बुलन्द
इलाम : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा इलाममा चुनावी माहोल तातिदैं गएको छ । विभिन्न पार्टीहरु गाउँ पस्ने क्रम बढेको छ । एकातिर जनताको घरघरमा गएर आफ्ना उम्मेद्वारलाई जिताउन स्थानीय नेता तथा कार्यकर्ता लागिपरेका छन् । अर्कातिर गाउँगाउँमा उम्मेद्वार चयन गरी सिफारिस गर्ने क्रम पनि बढिरहेको छ ।
यसै क्रममा नेकपा (एमाले) ले ४ नगरपालिकाका प्रमुख र उपप्रमुख तथा ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वार सिफारिस गरेको छ ।
जसमध्ये दुई नगरपालिका र एक गाउँपालिकाको प्रमुखमा नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको छ । एमाले जिल्ला कमिटि इलामको सचिव समेत रहेका बस्नेत २०५४ सालको स्थानीय निकाय निर्वाचनमा इलाम नगरपालिकाबाट मेयर निर्वाचित भएका थिए । यसैगरी उपप्रमुखमा तारा गुरुङ, सुसिला नेम्बाङ र शुसिला नेम्बाङ्गको नाम सिफारिस भएको छ ।
त्यस्तै देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुखमा पविमायाँ राईको नाम सर्वसम्मत सिफारिस भएको छ । पोख्रेल २०५४ साल स्थानीय निर्वाचनमा निर्वाचित जिल्ला विकास समितिका सदस्य समेत हुन् । माङसेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङहाङको नाम सर्वसम्मत सिफारिस भएको छ । राई एमाले क्षेत्र नम्बर २ का अध्यक्ष हुन् ।
सूर्योदय नगरपालिकामा आकांक्षी धेरै भएपछि प्रमुखमा सर्वसम्मत उम्मेद्वार सिफारीस हुन सकेन । सूर्योदयमा काजिमान कागते, आरबी राई, याम सुवेदी, खिनु लिम्बू र सोनाम छिरिङ् सिफारीस भएका छन् । त्यस्तै उपप्रमुख पदमा दुर्गा भट्टराई, चित्रकला बराईली, सावित्रा गड्तौलाले उपप्रमुखमा इच्छा व्यक्त गरेको एमाले उपाध्यक्ष भक्त केशीले जानकारी दिए ।
माई नगरपालिकामा आकांक्षीहरु बढी भएपछि नगर संगठन कमिटीको बैठकले सचिवालयलाई सिफारिस गर्ने जिम्मेवारी दिएको बताइएको छ । बैठकमा प्रमुख पदका लागि रत्न अधिकारी, दिपक थेवे, ध्रुब श्रेष्ठ, मेघनाथ गिरी र मोहन देवान तथा उपप्रमुखमा बिष्णुमायाँ आचार्य, हिमा भण्डारी र लक्ष्मी लावतीले इच्छा जाहेर गरेको नगर संगठन कमिटीका सचिव मुखराज आङ्देम्बेले बताए ।
चुलाचुली गाउँपालिकाको अध्यक्षमा ओमनारायण खनाल, प्रदीपचन्द्र राई र नारायण लावतीको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा मीना राई, निर्मला दाहाल र गीता भट्टराईको नाम सिफारिस भएको छ । यस्तै फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा दिपेन्द्र खनाल, नरेन्द्र लिम्बु र प्रेमराज लिम्बु तथा उपाध्यक्षमा सरस्वती राई, गायत्रा रेग्मी र विमलादेवी शर्माका नाम सिफारिस भएको छ ।
एमालेको तर्फबाट सन्दकपुर गाउँपालिकाको प्रमुखमा उदय राई, उमेश गुरुङ र याम राईको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा शोभा राईको नाम सर्वसम्मत सिफारिस भएको छ । यस्तै माईजोगमाई गाउँपालिकाको अध्यक्षमा जितबहादुर राई, याम अधिकारी र शिखरनाथ सापकोटाको नाम सिफारिस भएको छ भने उपाध्यक्ष्मा सावित्रा भट्टराई र यमुना घिमिरेको नाम सिफारिस भएको छ ।
रोङ् गाउँपालिकाको अध्यक्षमा मेहेरमान तामाङ्, बृहस्पति खतिवडा, दौलत राई र राजन बरालको नाम सिफारिस भएको छ । यस्तै उपाध्यक्षमा बिष्णु खवास, कमला तामाङ् र सीता न्यौपानेको नाम सिफारिस भएको छ ।
सिफारिस भएमध्ये सर्वसम्मत भएकाहरुको टिकट निश्चित बनेको छ भने दुई वा दुई भन्दा बढीको नाम सिफारिस भएकामा कसको नाम स्वीकृत हुने भन्ने कुर्नुपर्ने छ । एमालेमा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्वारको निर्णय प्रदेश कमिटीले गर्ने व्यवस्था छ ।
यसैगरी एमालेले जिल्लाका ८१ वटै वडामा उम्मेद्वार सिफारिसको काम सकिएको बताएको छ । ६० प्रतिशतभन्दा बढी वडाहरुका सबै पदमा सर्वसम्मतिबाट उम्मेद्वार सिफारिस भएको बताइएको छ । एक भन्दा बढी उम्मेद्वार भएका वडाका पदहरुमा जिल्ला कमिटीको बैशाख ७ गते बस्ने बैठकले उम्मेद्वार टुङ्गो लगाउनेछ ।
एमालेले वडाको उम्मेद्वार टुङ्गो लगाउने अधिकार जिल्ला कमिटीलाई दिएको छ ।