जोगमाईबाट ७.५ मेगावाट विद्युत उत्पादन सुरु

नयाँ बुलन्द

इलाम : इलामको जोगमाई खोलाबाट उत्पादित ७ दशमलव ५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा थप भएको छ ।

प्राधिकरणका प्राविधिकको रोहवरमा विद्युत गृहको सफल परीक्षणपछि विद्युत उत्पादन सुरु भएको सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोख्रेलले बताउनुभयो । निजी क्षेत्रद्वारा प्रवर्द्धित सान्भी इनर्जीले इलामको साविक नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत उत्पादन सुरु गरेको हो ।

पोखरेलका अनुसार अहिले उत्पादित विद्युत प्राधिकरणको गोदकस्थित १ सय ३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत गृहबाट काबेली करिडोर अन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सबस्टेसनमा पुर्‍याएको छ ।

विद्युत गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिए अनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि वार्षिक तीन प्रतिशत मूल्य वृद्धि हुनेछ ।

२७ महिना लगाएर पूरा गरिएको आयोजनामा आयोजना सम्पन्न एक अर्ब ५० करोड लागत लागेको  प्रबन्ध निर्देशक पोखरेलले बताउनुभयो । यस आयोजनामा अन्तर्राष्ट्रिययस्तरमा जडित उपकरण  र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू जडान गरिएको छ । यी उपकरणहरु पहिलोपटक नेपालमा भित्राइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार