सुजता सुनुवार
इलाम : नयाँ वर्षको अवसरमा इलाममा तीनदिने उद्यमी मेला सुरु भएको छ । महिलाहरुको व्यबसायिक क्षेत्रमा पहुँच विस्तार गर्दै रोजगारीको सृजना गरी गरीबी न्यूनिकरणमा सघाउ पुर्याउने उद्येश्यले बिहिबारबाट इलाम सदरमुकामको टुडिखेलमा मेला सुरु भएको हो ।
इलाम उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास इकाईले आयोजना गरेको मेलामा विभिन्न जातजातिका परिकार, स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु, जिल्लाका बिभिन्न स्थानका महिला उद्यमिले तयार पारेका सामाग्रीका साथै कृषिजन्य बस्तुहरु राखिएको छ ।
५० वटा स्टल रहेको मेलामा यसबर्ष अष्ट्रिज चराको स्टल, गार्मेन्टका सामाग्री, हावा मिठाई तथा चुस्कि, गुडिया–बेलुन लगायतका सामाग्रीहरुको पनि स्टल रहेको आयोजक समितिले जनाएको छ । मेलामा इलाम सहित झापा, पाँचथर, ताप्लेजुङ्ग, धनकुटाका तथा भारतका बिभिन्न स्थानका उद्यमीहरुले स्टल राखेका छन् ।
उद्यमि महिलाको अभियान, उत्पादन–पर्यटन र प्रबद्र्धन भन्ने मुल नाराका साथ सुरु भएको मेलामा एकलाख पर्यटक भित्राउने र ५० लाख रुपैंयाँ बराबरको कारोबार गर्ने लक्ष्य आयोजकको छ ।
नयाँ वर्षको अवसर पारेर महिला उद्यमि बिकास एकाईले इलाम चोक बजारमा २०६८ सालदेखि सडक महोत्सव गर्दै आएको थियो । त्यसैलाई निरन्तरता दिँदै यो वर्षबाट अझ भव्य बनाउने गरी मेला आयोजना गरेको हो ।