आशिष स्मृति पुरस्कार घिमिरेलाई

नेपाल पत्रकार महासंघ इलाम शाखाद्वारा स्थापित ‘आशिष स्मृति पत्रकारिता पुरस्कार–२०७४’ नेपालवाणी एफएमका समाचार प्रमुख गणेश घिमिरेलाई प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल ।

नयाँ बुलन्द

इलाम : यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट रेडियो नेपालवाणी एफएमका समाचार प्रमुख तथा आर्थिक अभियान दैनिकका सम्वाददाता गणेश घिमिरे पुरस्कृत भएका छन् । मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील तथा उत्कृष्ट पत्रकारलाई प्रत्येक वर्ष वैसाख १ गते प्रदान गरिदैं आएको पुरस्कार यसवर्ष घिमिरेलाई प्रदान गरिएको हो ।

स्वर्गीय राईको १४ औं स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पत्रकार घिमिरेलाई दोसल्ला, सम्मानपत्र र नगद दश हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । साविकको सुलुबुङ्ग गाउँ विकास समिति ३ इलाममा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

यसअघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल र युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी र रमेश समदर्शी राई र ताप्लेजुङ्गका आनन्द गौतम पुरस्कृत भईसकेका छन् ।

कार्यक्रम नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा भएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दहालले पुरस्कृतलाई बधाई ज्ञापन गर्दै पत्रकारीतामा भएका विकृतिलाई सुधार गर्दै लैजानुपर्ने सुझाए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति सोम सुसेलीले स्वर्गीय पत्रकार राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका संस्थापक सभापति धर्म गौतम, नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य, सचिव खगेन्द्र देवान, नेपाल बार एसोसियनका केन्द्रिय उपाध्यक्ष मदन खड्का, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष लक्ष्मण पाण्डे, नेपाल प्रहरीका इलाम प्रमुख एसपी शुशिलकुमार यादव, सशस्त्र प्रहरी बल श्रीअन्तु गुल्मका गुल्मपति चेतराज जोशी, प्रजातान्त्रिक कानुनव्यवसायी संघका पूर्व अध्यक्ष उत्तम पौड्याल, नेपाल रेडक्रस सोसाईटी इलामका सभापति देवी गौतम, शान्ति सञ्चार सहकारी संस्थाका अध्यक्ष केदार थापा, पेशागत पत्रकार संगठनका प्रतिनीधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार