नरेन इलामेली
माईजोगमाई : स्थानीय तहको निर्वाचनको मिति नजिकँदै गर्दा इलाममा चुनावी माहोल पनि तातिँदै गएको छ। गाउँगाउँमा उम्मेदवारको चर्चा र माथिल्लो तहसम्मको लभिङ बढेको छ ।
यो क्रम इलामको माईजोगमाई गाउँपालिकामा पनि सुरु भएको छ । नेपाली कांग्रेस वडा कार्य समिति माइजोगमाइ-१ उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको छ । नेपाली कांग्रेस समन्वय समिति माइजोगमाइ गाउँपालिकाका सभापति मदनकुमार भण्डारीको सभापतित्व तथा वडा नम्बर १ का सल्लाहाकार समितिका संयोजक पदम भण्डारीको प्रमुख आतिथ्यतामा बसेको कांग्रेस निकट भेलाले पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडाका लागि सम्पूर्ण उम्मेदवार सिफारिस गरेको छ ।
केही पदमा सर्वसम्मत नाम चयन भएका छन् । केहीमा भने दुई भन्दा बढीको नाम सिफारिस भएको छ । गाउँपालिका अध्यक्षमा पेम्बा शेर्पा, वडाका लागि महिला सदस्यमा पुष्पा घिमिरे र दलित महिला सदस्यमा निर्मला परियार सर्वसम्मत रुपमा चयन भएका छन् । उपाध्यक्षमा पुनम गुरुङ र प्रभादेवी भट्टराई (पौडेल) को दाबी रहेको छ ।
त्यस्तै वडा अध्यक्षमा समन्वय समितिका सभापति मदनकुमार भण्डारी, पुर्णबहादुर निरौला र घनश्याम निरौलाको दाबी छ । वडाका खुल्ला सदस्य २ पदका लागि भोला भण्डारी, देबीअधिकारी, दलबहादुर राई, गोपाल मगर, बलबहादुर जोगी र गंगाप्रसाद कोइरालाको उम्मेदवारी परेको छ ।
सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न खोजिए पनि केहि पद मात्र सर्वसहमत भएको र केही पदमा आ-आफ्नो दाबेदारी रहेको हुदाँ समन्वय समिति मार्फत टुङ्गो लगाइने र सो नभए क्षेत्रीय समिति मार्फत टुङ्गो लगाइने वडा नम्बर १ का सचिव शिव निरौलाले जानकारी दिए ।
उक्त भेलाले नेपाली कांग्रेस समन्वय समिति माइजोगमाइ गाउँपालिकाका सभापति मदनकुमार भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति समेत गठन गरेको छ ।