प्रधानमन्त्रीले झुट बोले : महासचिव पोखरेल

नयाँ बुलन्द

इलाम : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन् ।

इलाम सदरमुकाममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै रहेकाले यसमा एमालेको कुनै सहमति नभएको उल्लेख गरे ।

संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उनले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाए । प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरेपनि यो कदापि स्वीकार्य नहुने पोख्रेलको जिकिर थियो ।

यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने दावी गरे । जनताको वर्षौंदेखिको इच्छा, चाहना र आकाङ्क्षा अनुसार निर्वाचनमा भाग लिने अधिकार जनतालाई भएकाले चुनावमा भाग लिने अधिकारबाट विमुख गराउनु संविधान विपरित हुने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार