राप्राका नेतासमेत संघीय समाजवादीमा प्रवेश
नयाँ बुलन्द
वीरगञ्ज : पछिल्लो समय संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर देशैभरी बढेको छ । उपेन्द्र यादव नेतृत्वको फोरममा प्रवेश गर्ने क्रम बढेको हेर्दा सो पार्टीभित्र पनि चुनावी तयारी तीब्र बनेको देखिएको छ ।
सोमबार पर्सामा आयोजित एक कार्यक्रममा यस्तै रौनक देखियो । स्थानीय चुनाव नजिकिदैं जाँदा विभिन्न पार्टीका कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गर्न थालेका छन् । पर्साबाट सोमबार एक जना पूर्वमन्त्री, १५ जना पूर्वगाविस अध्यक्षसहित हजारौंलाई टीका लगाएर उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् ।
उनीहरु विनासर्त संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा राप्रपा, कांग्रेस र एमालेका नेता कार्यकर्ताहरु बढी छन् । जिल्लाका प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेसँगै पर्सामा फोरमको पकड बलियो भएको पार्टी जिल्ला अध्यक्ष प्रदीप यादवले दावी गरेका छन् ।
संघीय समाजवादी फोरम पर्साले जिल्लाको पचगवामा सोमबार पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पूर्वमन्त्री एवं राप्रपा नेता मोहनलाल चौधरीले उपेन्द्र यादवबाट टीका लगाएका छन् ।
त्यसैगरी राप्रपाकै पूर्वजिल्लाअध्यक्ष मुखदेव पञ्जियार, कांग्रेसका नेता सलीम अन्सारी र एमालेका जिल्ला नेता जितेन्ऽ यादव पनि फोरममा प्रवेश गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस ट्रेड यूनियनका केन्द्रीय सदस्य एवं एनजीओ सिसीका अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्र पर्साका पूर्वसचिव बालेश्वर गौरो र तमलोपा निकट शिक्षक यूनियनका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर दास कानू पनि फोरममा प्रवेश गरेका छन् ।
पूर्वगाविस अध्यक्षहरु नागेन्ऽ यादव, सलीम अन्सारी, भूपदेव राय थारू, काशी प्रसाद यादव, मुखदेव पञ्जियार, शिव राय थारू, कासिम अन्सारी, रूपनरायण पटेल, गौरीशंकर प्रसाद कलाकार, मुख्तार अन्सारी पनि फोरममा एकसाथ प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
वीरगञ्ज नगरपालिका १ का पूर्व वडाअध्यक्ष श्यामसुन्दर साहसहित कार्यकर्ताको समूह फोरम नेपाल प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै फूलमाला र अबीरले स्वागत गरेका छन् ।
हालैमात्र पर्साका केही उद्योगपति एवं व्यापारीको समूह फोरम नेपालमा प्रवेश गरेको थियो ।