काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेलाई स्वीकार्य हुने गरी संविधानको अर्को संसोधन विधेयक ल्याउने बताएका छन् ।
रिपोर्टस क्लब नेपालको १९ औ बार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले सबैलाई स्वीकार्य हुने गरी नयाँ संविधान संसोधन प्रस्ताव तयार पारेको खुलासा गरे ।
संशोधन विधेयकलाई सबै असन्तुष्ट दलहरुले स्वीकार्ने विश्वास गर्दे उनले त्यसले संविधान कार्यान्वय सहज बनाउदै तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने विश्वास आफुले लिएको बताए ।
मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी दल एमालेसहितसबै पक्षसंग पटक पटक गरेका छलफल र वार्तामा आधारित भएर आफुले संविधानको अर्को संसोधन विधेयक तयार पारेको भन्दै उनले त्यो राष्ट्रिय एकताको पक्षको दस्तावेज हुनेछ भन्नेमा विश्वस्त रहेको बताए ।
दोश्रो पटक सरकारको नेतृत्व सम्हाल्दा संविधानलाई सर्वस्वीकार्य बनाउदै दायरा फराकिलो पार्ने आफ्नो प्रतिवद्धता पुरा गर्न अर्को संसोधन विधेयक तयार पारेको पनि उनले बताए ।
असन्तुष्ट सबैका माग सम्बोधन गर्दै निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्ने राष्ट्रिय संकल्पमा राज्य रहेको प्रमले उल्लेख गरे ।
संकल्प र दृढताका साथ अघि बढे मुलुकमा आश्चर्य जनक विकास गर्न संभव छ भन्ने कुरा प्रमाणित भईसकेको भन्दै उनले अहिले मुलुक कुल गा्रहस्थ उत्पादनको ६ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गरे । उनले विकासको कडि पत्ता लगाइएको भन्दै राजनीतिक स्थिरता कायम गर्दै कम्तिमा ५ बर्षका लागि स्थिर सरकार बनाउन सके विश्व चकित हुने गरि विकासको फड्को मार्न सकिने उल्लेख गरे ।