नयाँ बुलन्द
पाँचथर : आसन्त स्थानीय तहको निर्बाचनका लागि म्यादी प्रहरी भर्नामा समेत भनसुन चलेको छ । आफन्त, कार्यकर्ता, नातागोता, साथीभाईलाई छनौट गरिदिनको लागि सुरक्षा निकायलाई भनसुनको लागि चर्को दवाव आएको छ ।
सरकारले निर्बाचनका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरे अनुसार जिल्ला जिल्लाका प्रहरी कार्यालयमा आवेदन दर्ता गरी छनौट प्रक्रिया संचालन गरेका छन् । आवश्यकताभन्दा बढी आवेदकले दरखास्त दिएपछि ५५ दिनका लागि छनौट गरिने म्यादी प्रहरी भर्नामा प्रभावशाली दलका नेता, कार्यकर्ता, जिल्लाका प्रतिष्ठित व्यक्तिहरुले आप्mनो मान्छेलाई छनौट गर्न दवाव दिने दिएका छन् ।
यसवर्ष म्यादी प्रहरी भर्नामा जिल्लास्थित प्रमूख जिल्ला अधिकारी, प्रहरी प्रमूख, नेपाली सेनाका प्रमूख, सशस्त्र प्रहरी प्रमूख, राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको छ । छान्नुपर्ने भन्दा फाल्नुपर्ने धेरै भएकोले दवाव थेग्न समेत निकै गाह्रो भएको सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् ।
कतिपय दलका नेताले आफ्नो दललाई भोट दिने शर्तमा भनसुन गराएका छन् । पाँचथरमा दुई सय ५९ महिलासहित एक हजार ८ सय ८० जनाले आबेदन दिएकामध्ये ८ सय ३४ जनाले लिखित परीक्षामा उतिर्ण छन् । अन्तरवार्ताबाट ७ सय २३ जना भर्ना लिने र एक सय ८८ जनालाई बैकल्पिक छनौट गरिने पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताए ।