झापा बन्यो माइभ्याली गोल्डकपको च्याम्पियन

माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि चुमेपछि पुरस्कार ग्रहण गर्दै झापा-११ का खेलाडीहरु । तस्विर : टीका खतिवडा

राम योङ्हाङ

इलाम : साविक विजेता रमपम झापा ११ इलाममा आयोजित तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार भएको फाइनलमा चिरप्रतिद्वन्दी विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–२ को जित निकाल्दै झापाले उपाधि चुमेको हो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि टाईब्रेकरको आधारमा विजेता निर्णारण गर्नुपरेको थियो ।

टाईब्रेकरमा झापाका तर्फबाट रजिन धिमाल, बुद्धराज चेम्जोङ, रञ्जित श्रेष्ठ र कर्ण लिम्बूले गोल गरे । आर्मीको तर्फबाट भने सन्तोष तामाङ र जर्ज प्रिन्स कार्कीले मात्र गोल गर्न सफल बने ।

उपाधिका लागि झापाका गोलरक्षक किशोर गिरी नायक बने । उनले आर्मीको दुई सशक्त प्रहारको उत्कृष्ठ बचाउ गरे । गिरीले आर्मीका जितेन्द्र कार्की र दीप लामाको पेनाल्टी प्रहार बचाउ गर्दै टिमलाई उपाधि दिलाउन सफल बने ।

निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटमा दुवै टिमले पाएको केही उत्कृष्ठ अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल टाईब्रेकरसम्म पुगेको थियो । दुवै टिमले गोल गर्ने अवसर थुप्रै पाएको थियो । तर गोल गर्न सकेन । झापाका स्टाईकर कर्ण लिम्बूले खेलको १०,  ५० र ८८ औं मिनेटमा पाएको वान भर्सेस वानको अवसर गोल गर्नबाट चुके । उता आर्मीका कप्तान कप्तान भरत खवासले इन्जुरी समयमा पेनाल्टी आर्कमा पाएको अवसर समेत खेर गएको थियो ।

जितसँगै झापाले अघिल्लो संस्करणको जितलाई निरन्तरता दिन सफल भएको छ । गत वर्ष अर्को विभागिय टोली एपिएफलाई २-० ले हराउँदै माईभ्याली गोल्डकप जितेको थियो । आर्मीले भने पहिलो संस्करण जितेको थियो ।

जितसँगै झापाले नगद चार लाख रुपैयाँ र ट्रफि पाएको छ । आर्मीले भने दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो । फाइनलको म्यान अफ द म्याच उपविजेता आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद सात हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ठ गोलकिपर विजेता रमपम झापा ११ का किशोर गिरी घोषित भए । उनलाई नगद सात हजार रुपैयाँ प्रदान गरियो । गिरी गत संस्करणमा पनि उत्कृष्ठ गोलकिपर बनेका थिए ।

बेस्ट डिफेन्डर झापाकै दिलेन लोक्ताम, बेस्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, बेस्ट फरर्वाड आर्मीका टंक बस्नेत र बेस्ट कोच झापाका टिम कोच सञ्जय राई बने । उनीहरुले जनही नगद सात हजार प्राप्त गरे ।

त्यस्तै उदयीमान खेलाडि आयोजक माईभ्याली फूटबल क्लबका अभिषेक लिम्बू घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । सर्वाधिक गोलकर्ता नेपाल पुलिस क्लबका अभिषेक रिजाल घोषित भए । उनले नगद २५ हजार हात पारे ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडि आर्मीका विवेक बस्नेत घोषित भए । उनले १५० सिसिको यमाहाको मोटरसाईकल प्राप्त गरे । विजेता र उपविजेता टिम तथा खेलाडिहरुलाई अखिल नेपाल फूटबल संघ (एन्फा) का सदस्यसचिव केशव विष्टले पुरस्कार प्रदान गरेका थिए ।

दुई विदेशी टिम सहित नेपालका ‘ए’ डिभिजन क्लव र विभागीय टिम गरी १० टिम सहभागिता रहेको प्रतियोगिता गत १७ चैतबाट सुरु भएको थियो । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब काठमाडौं, ए डिभिजन क्लब मनाङ मस्र्याङदी क्लब, रुपन्देही ११, संकटा क्लब र आयोज माईभ्याली फूटबल क्लब तथा भारतको कञ्चजनजंगा फूटबल क्लब सिलीगुढी र दुर्गापुर स्टील टीएसआई क्लब कोलकत्ता सहभागी थिए ।

माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा प्रतियोयितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनल खेलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार