माईभ्याली गोल्डकप फाइनल प्रिभ्यू
नमीन ढकाल
इलाम : तेस्रो अन्तराष्ट्रिय माइभ्याली गोल्डकपको उपाधिका लागि शनिबार रमपम झापा-११ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।
झापाले यस वर्ष मेची नेत्रालय दोश्रो काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो। आर्मीले यस वर्ष नेपाल कप, दुहबी गोल्डकप र हेटौंडा गोल्डक जितिसकेको छ । त्यसैले आफ्नो ट्रफी क्वाबिनेटमा आर्मी अर्को ट्रफी थप्न चाहन्छ। शुक्रबार ठुलो टुडिंखेलमा चियाबारी दैनिकले आयोजना गरेको प्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरे।
हेड टु हेडमा आर्मी अगाडी
यसअघि पहिलो संस्करणमा आर्मीले झापालाई पराजित गर्दै उपाधि जितेको थियो। हालसम्म आर्मीले झापासँगको ५ भेटमा ३ खेल आफनो पक्षमा पारेको छ। आर्मीले यस सिजनमा आहा गोल्डपको क्वाटरफाइनलमा झापालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले निर्धरित ९० मिनेटभित्रै झापालाई हराउने दाबी गरेका छन् । ‘झापा फर्ममा रहेको टिम हो तर उनीहरुको रणनितीलाई निस्तेज बनाउँदै गोलको अवसर बनाउन सक्ने हामीसँग धेरै आधारहरु छन्,’ उनले भने । प्रशिक्षक न्यौपानेले एन्फाले तत्काल राष्ट्रिय लिग गर्ने तयारी भैरहेको कारण जुनियर खेलाडीहरुका लागि फाइनल खेल परीक्षा सरह भएको बताए ।
आर्मीका कप्तान भरत खवासले झापा पुरानो प्रतिद्धन्दी भएका कारण जतिसक्दो झापाका स्ट्राइकरहरुलाई रोक्ने प्रयास गर्ने बताए । झापासँग अन्तराष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी भएका कारण उनीहरुको आक्रमणलाई निस्तेज बनाउन डिफेन्समा विशेष ध्यान दिने उनले बताए । झापाका कप्तान प्रवेश कट्बालले टिममा अधिकांश खेलाडीहरु नयाँ भएको कारण यसअघिका खेलमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए। ‘झापाको टिममा धेरै जसो नयाँ खेलाडीलाई अवसर दिएका कारण पुरानो र नयाँ खेलाडीहरुबीच तालमेल मिल्न नसक्दा यसअघिका खेलमा आकर्षक प्रदर्शन गर्न सकिएन। फाइनलमा भने आर्मीका स्ट्राइकरकालाई रोक्ने रणनिति बनाउँदै अघि बढ्नेछौं,’ उनले भने ।
इलामको मैदानमा सट पासको लागी उपयुक्त भएका कारण ‘टिकीटाका’ शैलीमा उत्रेर आर्मी विरुद्ध जित निकाल्ने उनले बताए । पहिलो खेलमा झापाले बलियो प्रतिद्धन्दी अग्नी रुपन्देही–११ लाई टाइब्रेकरका पराजित गरेको थियो भने सेमिफाइनलमा विभागिय टिम एपीएफ विरुद्ध जित निकालेको थियो। यता, आर्मीले पाहुना टोली कञ्चनजंघा एफसी र अर्को विभागीय टिम नेपाल पुलिसमाथि जित दर्ता गर्दै झापासँगको उपाधि भेट पक्का गरेको हो।
नवयुग नहुँदा खल्लो
आर्मीका प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ इलामका हुन् । त्यसैले इलाममा उनका थुप्रै समर्थक छन्। तर यस संस्करणमा नवयुग घाइते भएकाले प्रतियोगितामा सहभागी हुन पाएनन्। उनी उपचारका क्रममा अस्ट्रेलियामा रहेको जानकारी आर्मीका प्रशिक्षक नविन न्यौपानेले दिए। नवयुग श्रेष्ठ टोलीमा हुँदा आर्मीले घरेलु दर्शकको जस्तो साथ पाउने गरेको थियो ।
उनको अभावमा घरेलु दर्शकको समर्थनमा पनि तुलनात्मक रुपमा कमी आएको छ। अघिल्ला २ संस्करणको तुलनामा यसपटक आर्मीका समर्थक घटेका छन्। फाइनलमा नवयुग नहुँदा आर्मीलाई जति खल्लो छ। त्यति नै उत्साहित घरेलु दर्शकको साथ पाएको झापा- ११ छ। प्रतियोगितामा झापा- ११ ले दर्शकको राम्रो साथ पाएको छ। एपीएफ विरुद्धको सेमिफाइनल खेलमा पनि ठुलो संख्यामा दर्शकहरु झापाको समर्थन गर्न रंगशाला आएका थिए। ‘हामीलाई घरेलु दर्शकको साथ छ। त्यसैले हामी निकै उत्साहित छौं,’ झापा-११ का कप्तान प्रवेश कटुवालले भने ।
थाहाखबरबाट