काठमाडौ : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच एकता भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति र यशोदाकुमारी लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको छ । एकीकृत पार्टीको अध्यक्ष विजयकुमार गच्छदार रहेका छन् ।
एकीकृत पार्टीलाई राष्ट्रव्यापी रुपमा नेपाली जनताको घरदैलोमा पुर्याइ हिमाल पहाड, तराई/मधेसलाई एक सुत्रमा आबद्ध गर्ने गरिने एकता घोषणापछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । पार्टी एकीकरणपछि लोकतान्त्रिक फोरमले सरकारमा सहभागी हुने संकेत गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘एकीकृत पार्टीलाई सरकारको नेतृत्वमा पुर्याएर देशको समग्र विकासमा योगदान दिने लक्ष्य रहेको छ ।’
यी तीन पार्टीको एकीकरणले लोकतान्त्रिक फोरम संसदको पाँचौ दल बनेको छ । यसअघि १५ सिट रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम संसदमा पाँचौं स्थानमा थियो । लोकतान्त्रिक फोरमको संसद १७ सिट पुगेको छ । तत्कालीन फोरम लोकतान्त्रिकको १४, जनमुक्ति पार्टीको २ र लामा नेतृत्वका दलित जनजातिको एक सिट छ ।
पछिल्लो पटक निर्वाचनमा थ्रेसहोल्ड (मत सीमा) को व्यवस्था गरिने भएपछि साना दल एकीकरण प्रक्रियामा लागेका हुन् ।