राम योङ्हाङ
इलाम : नेपाली सेनाको नेपाल आर्मी क्लब इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबारको पहिलो सेमीफाइलनमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २-० को सहज जित निकाल्दै आर्मी उपाधि नजिक पुगेको हो ।
सुरुवातदेखि नै आक्रमक खेल प्रदर्शन गरेको आर्मीलाई जितका लागि स्ट्राइकर टंक बस्नेत र सन्तोष तामाङले गरेको गोल नै पर्याप्त बनेको थियो । खेलको ४२ औं मिनेटमा टंक बस्नेतले सुरुवाती गोल गरी टिमलाई जित नजिक पुर्याए । आर्मीका कप्तान भरत खवासलाई पुलिसका खेलाडीले फाउल बनाएपछि पाएको फ्रिककलाई सदुपयोग गर्दै बस्नेतले हेडमार्फत उत्कृष्ठ गोल गरेका थिए । आर्मीका जितेन्द्र कार्कीको फ्रिकिकलाई पुलिसका गोलरक्षक रोशन खड्काले पञ्ज गरेपछि पाएको अवसरलाई बस्नेतले सहजै गोलमा परिणत गरेका थिए ।
मध्यान्तरसम्म १ गोल खाएको पुलिसले मध्यान्तरपछि पनि विपक्षीलाई मजबुद दवावमा राख्न सकेन । उसलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । ६९ औं मिनेटमा पुलिस १० खेलाडिमा सीमित बन्यो । आर्मीका राजिव गुरुङलाई फाउल पारेपछि पुलिसका हेम तामाङ रेड कार्ड खाँदै मैदानबाट बाहिरियो । केही समयअघि मात्र यल्लो कार्ड पाएका तामाङले डबल यल्लोसँगै रेड कार्ड पाएका थिए । त्यपछि विपक्षीलाई दवावमा राख्न आर्मीलाई थप सहज बन्यो ।
पुलिस १० खेलाडिमा सीमित बनेको ३ मिनेट पनि बित्न नपाउँदै आर्मीका सन्तोष तामाङले गोल गरी टिमलाई २-० को जित निश्चित गराएका थिए । ८२ औं मिनेटमा आर्मीले पाएको पेनाल्टीको अवसर कप्तान भरत खवासले गोल गर्न चुके । खवासको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ठ बचाउ गरेका थिए । आर्मीका कप्तान खवासलाई पुलिसका गोलरक्षक खड्काले फाउल बनाएपछी आर्मीलाई पेनाल्टीको अवसर मिलेको थियो ।
उत्तरार्धमा पाएको पुलिसको आधा दर्जन प्रहार गोलमा परिणत हुन सकेन । इन्जुरी समयमा पुलिसका कप्तान जुमानु राईले पाएको अवसर समेत खेर गएपछि पुलिसले २-० को हार व्यहोर्न बाध्य बन्यो । खेलको म्यान अफ द म्याच विजेता आर्मीका विमल पाण्डे घोषित भए । उनले नगद सात हजार प्राप्त गरे ।
आर्मीले अब उपाधिका लागि शनिबार फाइनलमा बिहीबार हुने झापा ११ र सशस्त्र प्रहरीको एपीएफबीचको सेमीफाइनलको विजेता टिमसँग प्रतिष्पर्धा गर्नेछ । आर्मी माईभ्याली गोल्डकपको पहिलो संस्करणको च्याम्पियन हो । गत वर्षको संस्करणमा भने सेमीफाइनलमा सशस्त्र प्रहरीको एपीएफसँग ४-१ ले पराजित भएको थियो ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनलमा साविक विजेता रमपम झापा-११ र उपविजेता सशस्त्र प्रहरीको एपीएफ क्लब आमनेसामने हुँदैछन् । गत वर्षको माईभ्याली गोल्डकपमा झापाले एपीएफलाई २-० ले पाखा लगाउँदै उपाधि चुमेको थियो । एपीएफले उपविजेतामा नै चित्त बुझाउनु परेको थियो । बिहीबारको खेल एपीएफका लागि बदला लिने अवसरको रुपमा रहनेछ । उता झापाका लागि जित निरन्तरताको नैतिक दवाव हुनेछ ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुर्इ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलालीले १५० सिसीको यमाहाको मोटरसाईकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।