काठमाडौं : स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४ सय ८२ जनाले मतदान गर्ने भएका छन् ।
निर्वाचन आयोगले आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। यो संख्या गत २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको हो। कानुनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलनमा रोक लगाएको छ। सरकारले गत फागुन ९ मा आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचनको घोषणा गरेको थियो ।
आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार आयोगको बैठकले मतादाता नामावलीलाई अन्तिम रूप दिने (स्वीकृत गर्ने) निर्णय गरेको हो। आयोगले बनाएको कार्यसूचीमा चैत २० गत मतदाता नामावलीलाई टुंग्याउने उल्लेख भएकामा उक्त काम तोकिएको दिनमै भएको छ ।
प्रवक्ता शर्माका अनुसार कुल मतदातामा पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् । त्यस्तै, तेस्रो लिंगी मतदाता १ सय ४३ छन्। साढे तीन वर्षअघि २०७० मंसिर ४ मा भएको संविधानसभा निर्वाचनभन्दा अहिले मतदाताको संख्या १९ लाखले बढेको छ। त्यतीखेर एक करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए। त्यसभन्दा अगाडि ०६४ सालको निर्वाचनको समयमा एक करोड ७७ लाख मतदाता थिए । आयोगले ०६७ देखि फोटोसहितको मतदाता नामावली तयार गर्न थालेको हो । त्यसयता एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा रहने विषयले नियन्त्रण पाएको छ ।
आयोगको मतदाता नामावली शाखा प्रमुख उपसचिव चन्द्रबहादुर शिवाकोटीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी यसवर्ष कात्तिकदेखि माघसम्म देशैभर मतदाता नामावली संकलनका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको बताए । कात्तिक र मंसिरमा हिमाली २१ जिल्लामा तथा बाँकी ५४ जिल्लामा मसिंरदेखि माघसम्म गाउँस्तरमा प्रतिनिधि खटाएर मतदाता नामावली संकलन गरिएको उनले जानकारी दिए ।
स्थानीय तह पुन : संरचना सम्बन्धी विवरण ढिलो गरी प्राप्त गरेकाले नामावलीलाई टुंग्याउन केही ढिलो भएको आयोगले जनाएको छ। सरकारले फागुन २७ बाट ७४४ स्थानीय तह कायम गरेपछि सबै मतदाताको ठेगाना परिवर्तित भएका हो । आयोगले फागुन ८ भित्रै पुन :संरचना प्रतिवेदन मागेमा फागुन अन्तिममा मात्रै पाएको थियो ।
प्रवक्ता शर्माले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको बताए । अब मतदाता नामावली कुनैपनि ठाउँमा ठाउँसारी नहुने तथा नयाँ नाम दर्ता गरिने छैन। ७५ जिल्लाकै स्विकृत मतदाता नामावली छपाई सुरु भइसकेको प्रवक्ता शर्माले जानकारी दिए ।
मतदाता नामावली टुंगिएसँगै मतदाता परिचय पत्रपनि छापिने छ । परिचय पत्र छाप्ने जिम्मा पाएको एक निजी कम्पनीले आफ्नो सबै ‘सेट अप’ आयोग परिसरमा मिलाइ सकेको छ। प्रवक्ता शर्माले सोमबारबाट परिचयपत्र पनि छाप्न सुरु गरिने बताए। मतदाता नामावली र परिचयपत्र छापी वैशाख १० भित्र सबै जिल्लामा पुर्याइसक्ने आयोगले लक्ष्य राखेको छ। तराईका ६ जिल्लाको मतदान केन्द्र टुंग्याउन बाँकी रहेकाले ती बाहेक ६८ जिल्लाको मतदाता नामावली मतदान केन्द्र अनुसार आयोगले व्यवस्थित गरिसकेको छ। सबैतिरको मतदान केन्द्र पुनर्निर्धारणको काम सम्पन्न भएपछि फोटो सहितको मतदाता नामावलीलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने शर्माले जानकारी दिए ।