नयाँ बुलन्द
इलाम : इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगितामा आज सिएमजी संकटा र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच अन्तिम क्वाटरफाइनलमा प्रतिष्पर्धा हुँदैछ ।
इलामको ठूलो टुँडिखेलमा पहिलोपटक उत्रिन लागेको संकटा र चिरपरिचित एफिएफ क्लबबीच केही बेरपछि खेल सुरु हुनेछ । संकटाबाट विशु अधिकारीको कप्तानीमा संकटाले चर्चित स्ट्राइकर विमलसहित विक्रम लामा, अनन्त तामाङ, विशाल श्रेष्ठलगायत मैदान उत्रदैछन् । उता एपीएफबाट मिलन राईको कप्तानीमा नवीन लामा, राजेन्द्र रावल, रमेश दंगाललगायत प्रतिस्पर्धामा उत्रदैछन् ।
उपाधिका लागि दावेदार मानिएको दुवै टिमको खेल अत्यन्तै प्रतिष्पर्धात्मक हुने अनुमान दर्शकहरुको छ । आजको विजेताले बिहीबार रमपम झापा-११ को सामना गर्नेछ ।
यसअघिका ५ भेटमा ४ मा संकटाले जितेको छ भने १ खेलमा एपीएफले जितेको छ । संकटाले सिमरा, बूढासुब्बा, नेपालगञ्जलगायत गोल्डकपमा एपीएफलाई पराजित गरेको थियो। काँकडभिट्टा गोल्डकपमा भने एपीएफसँग सेमिफाइनलमा हारेको थियो ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुर्इ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलालीले १५० सिसीको यमाहाको मोटरसाईकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल २६ चैतमा हुनेछ ।