राम योङ्हाङ
इलाम : विभागीय टिम नेपाल पुलिस क्लब इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा उपाधिको बलियो दावेदार टिम मनाङ मर्स्याङ्दी क्लब विरुद्ध १-० को कठिन जित दर्ता गर्दै पुलिसले सेमीफाइनलको यात्रा पक्का गरेको हो ।
पुलिसका अभिषेक रिजालले खेलको ३५ औं मिनेटमा गरेको एक मात्र गोल नै जितका लागि निर्णायक बनेको थियो । कप्तान भोला सिलवालको फ्रिकिक मनाङका गोलरक्षक दिनेश थापा मगरले पञ्च गरेपछि रिजालले रिबाउन्ड गोल गरेका थिए ।
उपाधिका दावेदार दुवै टिमले खेलको सुरुवातमै आक्रामक खेल प्रदर्शन गरेको थियो । विपक्षीलाई निरन्तर दवावमा राख्न हरहमेसा दुवै टिम क्रियाशील थिए । दुवै टिमले दर्जन बढी अवसरहरु पाएपनि सदुपयोग गर्न सकेनन् ।
मध्यान्तरपछि मनाङ बढी आक्रामक रुपमा प्रस्तुत भयो । पुलिसले भने रक्षात्मक रणनीति अपनाएको थियो । उत्तरार्धमा पुलिसलाई निकै दबावमा राखेको मनाङले गोल गर्न भने सकेन । फलस्वरुप उपाधि चुम्ने सपना चकनाचुर पार्दै मनाङ घर फर्कन बाध्य बन्यो । मध्यान्तरपछिको खेलमा प्रतिकुल मौसम (बाक्लो हुस्सु) का कारण तीन पटक खेल स्थगित भएको थियो ।
जितसँगै पुलिसको अबको भेट फाइनल पुग्न बुधबार अर्को विभागीय टिम नेपाली सेनाको नेपाल आर्मी क्लबसँग हुने निश्चित भएको छ । आर्मी गोल्डकपको पहिलो संस्करणको च्याम्पियन हो । खेलको म्यान अफ द म्याच विजेता पुलिसका कप्तान भोला सिलवाल घोषित भए । उनले नगद सात हजार प्राप्त गरे ।
प्रतियोगितको अन्तिम क्वाटरफाइनलमा मंगलबार संकटा क्लब काठमाडौं र सशस्त्र प्रहरीको एपीएफ क्लब आमनेसामने हुँदैछ । एपीएफ अघिल्लो संस्करणको उपविजेता टिम हो ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुर्इ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ठ खेलालीले १५० सिसीको यमाहाको मोटरसाईकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल २६ चैतमा हुनेछ ।