‘मधेस’ शब्द हटाउँदै गच्छदारले पार्टीको नाम फेर्ने

काठमाडौँ : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । पार्टीको नामबाट अब नेपाल लोकतान्त्रिक फोरम हुने भएको छ । नयाँ शक्ति नेपालबाट पार्टी प्रवेश गरेका सहसंयोजक महेश कर्मोचा लगायतको प्रस्ताव अनुसार पार्टीले नाम परिवर्तन गर्न लागेको हो ।

यसमा पार्टीका अध्यक्ष विजय गच्छदारले समेत सहमति जनाइसकेका छन् । आज कर्मौचासहित नयाँ शक्तिका ३० जना नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश गरका छन् ।

पार्टीमा प्रवेश गर्न अघि नै कर्मोचाले पार्टीको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका थिए । पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा रुपान्तरण गर्न ‘मधेस’ शब्द हटाउन उनीहरुको प्रस्ताव थियो ।

पार्टी प्रवेश कार्यक्रममा कर्मोचाले उक्त प्रस्तावलाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष गच्छदारले भने, ‘नाम परिवर्तन हुन्छ, यो जनताको माग हो । नाम चयन भइसकेको छ । तर यसको विधिवत घोषणा हामी चाँडै गर्छौँ ।’

पार्टी स्रोत भन्छ, ‘केही दिन अन्य पार्टीका कार्यकर्ताहरुलाई पनि पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ । वहाँहरु आएपछि पार्टीको बैठक बसेर नाम परिवर्तन गर्ने कुरा छ ।’

रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार