पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पक्राउ

नयाँ बुलन्द

काठमाडौं :  निर्वाचन आयोग धर्ना दिन गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई पक्राउ परेका छन् ।

आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन् । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेकाअनुसार पक्राउ परेका नेताहरुलाई ट्रकमा राखेर प्रहरीले २ नं. महाराजगञ्ज पुर्‍याएको थियो । केहीबेर महाराजञ्जमा राखेर भट्टराईसहितका नेताहरुलाई महेन्द्र पुलिस क्लव भृकुटीमण्डप पुर्‍याएको पाण्डेले जानकारी दिए ।

प्रहरीले धर्नाबाट पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी, सांसद गंगा चौधरी (सत्गौंवा), नयाँ शक्तिका नेता परशुराम तामाङलगायत पनि पक्राउ गरेको छ ।

नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका पाँच दर्जन दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन् । उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए ।

नयाँ शक्तिले बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो । समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार