राम योङ्हाङ
इलाम : नेपाली सेनाको नेपाल आर्मी क्लब इलाममा जारी तेश्रो अन्र्तराष्टिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली कञ्चनजंघा फूटबल क्लब सिलीगुडी भारतालाई २–१ जित दर्ता गर्दै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मध्यान्तर अघि दुवै टिमले आक्रामक खेल प्रदर्शन गरेपनि गोल भने इन्जुरी समयमा मात्र भएको थियो । इन्जुरी समयमा आर्मीका राजीव गुरुङले पहिलो गोलको खाता खोलेका थिए । उनले हेडमार्फत गोल गरेका थिए ।
मध्यान्तरपछि नयाँ रणनीतिका साथ दुवै टिम मैदान प्रवेश गर्यो । दुवै टिमका खेलाडीले रक्षात्मक भन्दा आक्रामक शैली अपनायो । लगातार विपक्षीको पोष्टमा दुवै टिमले दर्जनौं प्रहार गर्यो । दुवै टिमले उच्च मनोबलका साथ खेल प्रदर्शन गरेको थियो । दर्शकको हुटिङले खेलाडीले उत्तिकै हौसला पाएको थियो ।खेलको ७६ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । विपक्षी टिमको मजबुत रक्षापंतीलाई छक्याउँदै खवासले डिबक्स भित्रबाट क्रस गरेको बलले जाली चुमेको थियो ।
नेपाली राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेको आर्मीका सामु कञ्चनजंघाले समेत आक्रामक खेल्यो । ८५ औ मिनेटमा भर्खरै मैदान प्रवेश गरेका कञ्चनजंघाका पेमा भुटियाले सान्तवना गोल फर्काउन सफल भएका थिए । कञ्चनजंघाका खेलाडीहरु अन्तिम समयसम्म विपक्षीको पोलमा गोल गर्न थुप्रै प्रयास गरेपनि सफल बन्न सकेन । अन्ततः क्वाटरफाइनलबाटै उपाधि चुम्ने सपना चकनाचुर पार्दै आफ्नो स्वदेश फर्कन बाध्य बनेको थियो ।
खेलको म्यान अफ द म्याच विजेता टिम आर्मीका कप्तान भरत खवास घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । आर्मीको आगामी भेट नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी बीचको विजेता टिमसँग बुधबार हुनेछ ।
प्रतियोगिता अन्तरगत आईतबार साविक विजेता रमपम झापा–११ र रुपन्देही–११ बीच प्रतिष्पर्धा हुनेछ ।
२६ चैतसम्म सञ्चालन हुने प्रतियोयितामा विदेशी टिम भारतको कोलकत्ता र दार्जिलिङ सहित नेपालका ‘ए’ डिभिजन क्लव र विभागीय टिम गरी १० टिम सहभागी छन् ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । ६० लाख रुपैंयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका मुख्य प्रायोजकमा टुवोर्ग वियर, सह–प्रायोजकहरुमा रुसलान भोड्का, रमपम तयारी चाउचाउ लगायत छन् ।