नयाँ बुलन्द
इलाम : इलामको गौरव र प्रतिष्ठाको विषय बनेको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटवल प्रतियोगिताको समाचार वहिस्कार गरेको हल्ला गलत भएको पत्रकार महासंघ इलाम शाखाले प्रष्ट पारेको छ ।
महासंघका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा विहीबार साँझ बसेको महासंघ इलाम शाखाको बैठकले केहि पत्रकारहरुले नेपाल पत्रकार महासंघ इलाम शाखाको लेटर प्याड र छापको दुरुपयोग गर्दै गोल्डकप बहिष्कार गरेको भन्ने भ्रमपूर्ण प्रेस विज्ञप्ति निकालेको भन्दै सस्थाको सम्पती दुरुपयोग गर्ने समुहलाई कारवाहिको प्रकृया अघि बढाउने निर्णय गरेको जनाएको छ ।
महासंघले जिल्लाको प्रतिष्ठासँग जोडिएको प्रतियागिताको समाचार संकलनकै क्रममा इलामका पत्रकार प्रतियोगिताको मैदानमा रहेको उल्लेख गरेको छ ।
महासंघले कोकिला ढकाल नेतृत्वको समुहले पत्रकार महासंघको कार्यालयमा तोडफोड गरि आम जगतलाई भ्रम सृजना हुने ढंगबाट विज्ञप्ति जारी गरिएको भन्दै खेद व्यक्त गरेको छ ।
महासंघ अध्यक्ष विप्लव भट्टराइले जारी गरेको विज्ञप्तिमा तोडफोड र प्रचारवाजीमा उत्रेका पत्रकारको पहिचान भइसकेको र निजलाई कारवाहीको प्रकृया अघि बढाइसकेको समेत जनाएको छ । महासंघले भ्रमपूर्ण समाचारको पछि नलाग्न सम्पूर्ण इलामेली र फुटबलप्रेमी महानुभावहरु प्रति अपिल समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “सामाजिक प्रतिष्ठा र इलामको पहिचानलाई नामेट गर्न खोज्ने पत्रकारहरुले समाजलाई कुन दिशातर्फ उत्मुख गरिरहेका छन्, त्यसलाई सुक्ष्म ढंगबाट मुल्यांकन गर्न हामी आम इलामेलीलाई आह्वान गर्दछौं ।”