सुजता सुनुवार
इलाम : इलाममा जारी तेस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा आज पाहुना टिम दुर्गापुर स्टिल टि एस वाई कोलकत्ता र रुपन्देही-११ भिड्दैछन् ।
दिउँसो साढे २ बजेदेखि हुने गोल्डकपको दोस्रो खेलमा राष्ट्रिय र अन्तरराष्ट्रिय क्लब एकआपसमा आमनेसामने हुँदैछन् ।
नेपालगञ्जमा भएको पाँच लाख पुरस्कार राशीको प्रतियोगितामा विजय हुन सफल रुपन्देहीको टिम उत्कृष्ट टिम मानिएकोले उसको सम्भावना बलियो छ । उता कोलकत्ता पनि उत्तिकै मजबुद टिम हो । कोलकत्ताको पनि एकसे एक खेलाडी राम्रा भएकोले दुवै टिमको खेल उत्साहजनक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक माईभ्याली फूटबलक्लब इलामलाई ३-० ले पाखा लगाउँदै नेपाल पुलिस क्लब अन्तिम आठमा प्रवेश गरिसकेको छ ।
माईभ्याली फूटबल क्लव इलाम र जिल्ला फूटबल संघ इलामको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक सहित नेपाल र भारतका चर्चित १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, नेपाल आर्मी, संकटा, एपीएफ, नेपाल पुलिस, झापा-११, रुपन्देही-११ तथा भारत कोलकत्ताको दुर्गा स्टिल एफसी र सिक्किम युनाइटेड एफसीले प्रतिष्पर्धा सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको बिजेताले नगद चार लाख र उपविजेताले नगद साडे दुई लाख रुपैंयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडिले १५० सिसीको यामाहा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।