अन्तर्राष्ट्रिय श्रम सिद्धान्तमा जोड

नयाँ बुलन्द

इलाम : संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले ब्यवसायहरुमा कामदारको संगठित हुने र सामुहिक सौदाबाजीको सम्मान, बाध्यकारी र अनिवार्य श्रमको निराकरण तथा रोजगारीमा हुने भेदभावहरुको अन्त्य गरिनुपर्नेमा जोड दिएको छ । ब्यवसायका लागि मार्गनिर्देशन गर्ने ग्लोबल कम्प्याक्ट नामले चिनिने श्रम सिद्धान्तहरुको परिचालनाबाट कामदार र ब्यवसायी दुबैको हित हुने जानकारी आइएलओले दिएको छ ।

डेनमार्क सरकार र आईएलओको आर्थिक तथा प्राविधिक सहयोगमा उन्नति कार्यक्रमअन्तर्गत इलाम बजारमा सञ्चालित तीनदिने तालिममा सो जानकारी दिइएको हो । अन्तर्राष्ट्रिय श्रम संगठनले उन्नति कार्यक्रमअन्तर्गत अधिकार तथा ब्यवसायिक सुशासनका लागि पैरवी परियोजनाले पूर्वका सात जिल्लामा अर्थोडक्स चिया, अदुवा, दूध र अलैँची प्रवद्र्धनमा सघाइरहेको छ ।

‘प्रभावकारी तवरले आइएलओका श्रम सिद्धान्तहरु लागू गर्दा उत्पादन, प्रशोधन प्रणाली र बजारीकरणको गुणस्तरीयतामा बृद्धि हुन्छ’, आईएलओका राष्ट्रिय कार्यक्रम संयोजक नविनकुमार कर्णले बताए । ग्लोबल कम्प्याक्ट अभियानको मानव अधिकार सिद्धान्त, श्रम सिद्धान्त, वातावरणीय सिद्धान्त र भ्रष्टाचारबिरोधी सिद्धान्तहरुले ब्यवसायिक उत्तरदायित्वको बृद्धिसँगै दिगो र समावेशी आर्थिक विकासमा सघाउने बताइयो ।

आइएलओले विभिन्न संघसंस्थाहरुको संस्थागत क्षमता अभिबृद्धि गर्दै चिया, अलैँची, अदूवा र डेरीमा मूल्य श्रृङ्खला अभिबृद्धि गर्न उल्लेख्य सहयोग पुर्याईरहेको छ । सोही क्रममा आइएलओले प्रवद्र्धन गर्दै आइरहेको श्रमसम्बन्धी सिद्धान्तसम्बन्धी तीनदिने तालिम इलाम सदरमुकाममा मंगलबार शुरु भएको छ ।

तालिममा राष्ट्रिय कार्यक्रम संयोजक कर्ण, परामर्श अधिकृत देबेन्द्र ढुङ्गाना र सर्बोच्च बारका अधिवक्ता रामकृष्ण काप्mलेले सहजीकरण गरिरहेका छन् भने उन्नति कार्यक्रम सञ्चालन भएका पूर्बाञ्चलका सातवटा जिल्लामा पैरवी परियोजना सञ्चालन गर्न आईएलओमा प्रस्ताव गर्ने संस्थाका प्रतिनिधी सहभागी रहेका छन् ।

त्यसैगरि सोमबार आइएलओकै आयोजनामा एकदिने आधार रेखा सर्भेक्षण सम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको थियो । तालिममा पैरवी परियोजनासँग सम्बन्धित कामको आधाररेखा सर्भेक्षण गर्ने तथ्याङ्क संकलक (गणक)हरुको सहभागिता रहेको थियो । सो तालिममा आइएलओका कन्सल्ट्याण्ट काजीरत्न अवालेले सहजीकरण गरेका थिए । तालिमपश्चात गणकहरुले परियोजना लक्षित समूहमा आधाररेखा सर्भेक्षण गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार