सुताजा सुनुवार
इलाम : इलाममा बिहिबार सुरु भएको तेस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । उद्धाटन खेलमा आयोजक माइभ्याली फूटबल क्लबलाई ३–० को फराकिलो अन्तरले हराउँदै पुलिसले अन्तिम आठ (क्वार्टरफाइनल) को स्थान बनाएको हो ।
खेलको सुरुबाटै दबाबमा राखेको पुलिसको जितमा नेपाली राष्ट्य टिमका पूर्व स्ट्राइकर समेत रहेका भरत शाहले वान भर्सेज वानमा खेल सुरु भएको पाँच मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । सुरुमै एक गोलले पछि परेको माइभ्यालीसामु दोस्रो गोल २८ औं मिनेटमा अण्डर सेभेन्टिनबाट राष्ट्रिय टिमबाट खेल्दै आएका अबिशेक रिजालले गोल गर्दै टिमलाई पहिलो हाफमै २–० को अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोलले पछि परेको आयोजकले दोस्रो हाफबाट जितको करिब नजिक पुगिसकेको पुलिसले इन्जुरी समयमा पेनाल्टिको सदुपयोग गर्दै तेज तामाङले जालि चुमाएपछि अन्तत पुलिसले आयोजकलाई उसकै घरेलु मैदानमा ३–० को फराकिलो गोल अन्तरले पाखा लगाउन सफल बन्यो ।
प्रतियोगितामा भरत शाह म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद ७ हजार रुपैंयाँले पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा शुक्रबार पाहुना टिम दुर्गा स्टिल कोलकत्ता र रुपन्देहि ११ बिच दिनको साढे २ बजेबाट हुने आयोजकले जनाएको छ ।
माइभ्यालि फूटबल क्लब र जिल्ला फूटबल संघ इलामको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल आउँदो चैत २६ गते हुनेछ ।प्रतियोगितामा आयोजक सहित नेपाल र भारतका चर्चित दश टिमहरु मनाङ मरस्याङदि, त्रिभुवन आर्मि, संकटा, एपिएफ, नेपाल पुलिस क्लब, झापा ११, रुपन्देहि ११ तथा भारत कोलकत्ताको दुर्गा स्टिल एफसि र सिक्किम युनाइटेड एफसीले प्रतिष्पर्धा गर्दैछ ।
प्रतियोगिताको बिजेताले नगद चारलाख उपविजेताले नगद साडे दुई लाख रुपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडिले १५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्नेछ ।