तेस्रो माइभ्याली गोल्डकपको तयारी पूरा

नयाँ बुलन्द

इलाम : इलाममा सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक माईभ्याली फूटबल क्लबले जनाएको छ ।

पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको गोल्डकप बिहीबारदेखि सदरमुकामको ठूलो टुँडिखेलमा हुँदैछ । उद्घाटन उद्घाटन खेल आयोजक माइभ्याली र नेपाल पुलिसबीच हुनेछ ।

चार लाख रुपैयाँ पुरस्कार राशिको गोल्डकपको यस संस्करणमा ए डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी हुँदैछन् । प्रतियोगितामा लक्ष्मी डुन्डाई मनाङ–मस्र्याङ्दी, रुपन्देही–११, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा, झापा–११ र माइभ्याली–११ भिड्दैछन् । भारत कोलकाताको दुर्गापुर स्टिल र असमको ग्लोबल फुटबल क्लब पनि प्रतियोगितामा भिड्न आउने आयोजक माइभ्यालीले जनाएको छ ।

त्यस्तै चैत १८ गते रुपन्देही–११ र दुर्गापुर स्टिल क्लबबीच हुनेछ भने १९ गते नेपाल आर्मी र ग्लोबल क्लब भिड्नेछन् । २० गते रुपन्देही–११ र दुर्गापुर स्टिलमध्ये विजेताको सामना झापा–११ ले गर्नेछ । चैत २१ मा माइभ्याली र नेपाल पुलिसको विजेतासँग मनाङ–मस्र्याङ्दी भिड्ने छ । चैत २२ मा संकटा र सशस्त्र प्रहरीको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

एउटा समूहबाट ग्लोबल र आर्मीमध्ये १ ले मनाङ, माइभ्याली र पुलिसमध्ये १ सँग चैत २३ मा सेमिफाइनल खेल्नेछ । अर्को समूहबाट आउने संकटा र सशस्त्रमध्ये १ ले झापा, दुर्गापुर र रुपन्देहीमध्ये १ सँग चैत २४ मा दोस्रो सेमिफाइनल खेल्नेछ । खेलको फाइनल चैत २६ लाई तय गरिएको छ ।

प्रतियोगिताको उपविजेताले भने दुई लाख ५० हजार नगद पुरस्कार पाउने छ । हाई स्कोररले २५ हजार, म्यान अफ् टि टुर्नामेन्टले १ सय ५० सिसीको यामाहा मोटरसाइकल र प्रत्येक दिनको म्यान अफ् दि म्याचले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिता आयोजना गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । प्रतियोगितामा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्काले प्रतियोगिताको प्रायोजन–सहप्रायोजन गरेको छ । त्यस्तै जिल्ला समन्वय समिति, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, इलाम नगरपालिकालगायतले केही आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजकले सदरमुकाममा मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

माईभ्याली फूटबल क्लब र जिल्ला फूटबल संघ इलामले संयुक्त रुपमा आयोजना गरेको र्‍यालीमा ५० भन्दी बढी मोटरसाइकलसहित खेलप्रेमी सहभागी थिए ।

ठूलो टुँडिेखलबाट सुरु भएको र्‍यालीले ५ किलोमिटर दुरी परिक्रमा गरेको थियो । र्‍यालीका सहभागीहरुले २६ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी भइदिन स्थानीयलाई आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार