नयाँ बुलन्द
इलाम स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ सम्बन्धी अभिमुखीकरण इलाम नगरपालिकाका विभिन्न वडामा सम्पन्न भएको छ । साथै वडा कार्यालयहरुको उद्घाटन समेत गरिएको छ ।
नगरपालिका वडा नम्बर १ को साँखेजुङ्गमा, २ को सुम्बेक, ३ को पुवामझुवा, ४ र ५ बरबोटे, १० को गोदक, ११ को सोयाक र १२ को साङरुम्बामा कार्यक्रम सम्पन्न भएको इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङले जानकारी दिए ।
विभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधि, साविकका वडा नागरिक मञ्चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिह, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, वडामा रहेका सरकारी निकायका प्रतिनिधि र स्थानीय व्यापारी व्यवसायीहरू समेतको उपस्थितिमा स्थानीय तहको शासन सञ्चालन सम्बन्धी वडागत अभिमुखीकरण तथा वडा कार्यालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा स्थानीय तहको शासन सञ्चालनसम्बन्धी आदेश २०७३ मा उल्लिखित वडाको काम, कर्तव्य र अधिकार लगायत वडाबाट प्रवाह हुने सेवा सुविधाहरु, नक्सापास मापदण्ड र फोहरमैला व्यवस्थापन जस्ता विषयमा छलफल गरिएको कार्यालयका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।