आदिवासी जनजाति महासंघ इलामको अधिवेशन सुरु

नयाँ बुलन्द

इलाम : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको सातौं जिल्ला अधिवेशन बिहीबार इलाम सदरमुकाममा सुरु भएको छ । भिन्न साँस्कृतिक झाँकी सहित भव्य उद्घाटन गरियो ।

उद्घाटनअघि ठूलो टुँडीखेलबाट सुरु भएको साँस्कृतिक र्‍यालीले इलाम बजार परिक्रमा गरेको थियो । पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनका लागि साझा अभियान भन्ने मूल नाराका साथ सुरु भएको अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष किरण सुनुवारले गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनैतिक दल तथा जातीय संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य गरेका थिए ।

अधिवेशनको बन्द सत्र जिल्ला समन्वय समिति इलामको सभाहलमा साँझ सुरु भएको छ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भईरहेको बताईएको छ ।

अधिवेशन उद्घाटन अघि निकालिएको साँस्कृतिक र्‍यालीका झलकहरु :

तस्विर : राम योङहाङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार