साढे ६ हजार दलितसहित १३ हजार महिला नेतृत्वमा आउने
काठमाडौं : आगामी स्थानीय तहको निर्वाचनले झण्डै ३५ हजार जनप्रतिनिधि चुन्ने भएको छ । जसमा ६ हजार ६ सय ८० दलितसहित १३ हजार ३ सय ६० महिला अनिवार्य हुनेछन् ।
साथै राजनीतिक दलहरुले नगर मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एकमा महिला उम्मेदवार बनाउनु पर्ने अनिवार्य व्यवस्था छ । यसले पनि स्थानीय तहको नेतृत्वमा महिला आउने सम्भावना प्रवल छ ।
आगामी वैशाख ३१ गते ७ सय ४४ स्थानीय तहमा निर्वाचन हुँदैछ, जुन लोकतन्त्रिक अभ्यास मात्र होइन, दलहरुलाई नेता-कार्यकर्ता व्यवस्थापन गर्ने अवसर पनि हो ।
कसरी चुनिनेछन् जनप्रतिनिधि ?
कुल ७ सय ४४ स्थानीय तहमध्ये ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका छन् ।
स्थानीइ तहको निर्वाचन प्रणाली अनुसार नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सम्वन्धित स्थानीय तहका जनताको प्रत्यक्ष मतबाट चुनिनेछन् । यस आधारमा २६३ मेयर र त्यति नै संख्यामा उपमेयर चुनिनेछन् । यस्तै ४८१ गाउँपालिका अध्यक्ष र त्यति नै संख्यामा उपाध्यक्ष चयन हुनेछन् ।
राजनीतिक दलहरुले मेयर तथा उपमेयर र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मध्ये एकमा महिला उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था ऐन नै छ ।
यस्तै देशभरका स्थानीय तहमा ६ हजार ६८० वडा छन् । सबैमा वडाध्यक्ष चुनिनेछन् । वडा सदस्यमा दलित महिलासहित दुई महिला र दुई सदस्यका लागि चुनाव हुनेछ ।
यसअनुसार वैशाख ३१ को चुनावमा ६६८० वडाध्यक्ष चुनिनेछन् भने ६६८० दलित महिला र ६६८० र १३ हजार ३६० खुला गरी २६ हजार ७२० वडा सदस्य चुनिनेछन् ।
यसरी हेर्दा वडा स्तरमा ६६८० बडाध्यक्षसहित सहित ३३ हजार ४०० जनप्रतिनिधि चुनिनेछन् ।
मेयर उपमेयर ५२६ र गाउपालिका अध्यक्ष र उपाध्यक्ष ९६२ हुनेछन् । समग्रमा अबको स्थानीय तहको चुनावले ३४ हजार ८८८ जनप्रतिनिधि चुन्नेछ ।
कति उम्मेदवार होलान् ?
निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरे काठमाडौंमा ४५ र कम मनाङमा ७ दलले चुनाव लड्न सक्नेछन् । यदि प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्र देशभर सबै पदमा उम्मेदवार दिन्छन् भन्ने मान्ने हो भने पनि १ लाख ४ हजार ६६४ उम्मेदवार उनीहरुको मात्र हुनेछन् ।
राप्रपा, नयाँ शक्ति नेपालका साथै क्षेत्रीय दलहरुको संख्या पनि ठूलो छ । देशभरमा गरेर ११३ स्थानीय चुनावमा भाग लिन सक्नेछन् भने स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । यसरी हेर्ने हो भने स्थानीय चुनावमा मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुमा डेढदेखि २ लाख उम्मेदवार मात्र हुनेछन् ।
अनलाइनखबरबाट