इलामको स्थानीय तह सिफारिस गरे भन्दा फरक

वडा संरचना र गाउँपालिकाका केन्द्रहरु हेरफेर

सुदिप श्रेष्ठ

इलाम : देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । ती पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।

सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर सात सय ४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आज शुक्रबारबाट कार्यान्वयनमा आएको मन्त्री कमल थापाले घोषणा गरेका छन् ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले सिफारिस गरी पठाएको संरचनामा आंशिक फेरबदल गर्दै गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ । नयाँ संविधानअनुसार आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।

इलामको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले सिफरिस गरेको स्थानीय तहको संरचनाको १३ ठाउँमा  हेरफेर गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको छ । परिमार्जन गरिएकोमा वडा संरचना र गाउँपालिकाका केन्द्रहरु मात्र छन् ।

संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि शुक्रबारदेखि यसअघिका सबै स्थानीय निकाय खारेज भई स्थानीय तह कार्यान्वयनमा आएको हो । मन्त्रिपरिषदले गत २२ फागुनमा सात सय ४४ स्थानीय तह हुनेगरी गरेको निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ ।

यसअघि इलाममा भएको ३ नगरपालिका र ४३ गाविसको संरचना खारेज भई शुक्रबारदेखि नै ४ नगरपालिका र ६ गाउँपालिका कार्यान्वयनमा आएको छ । इलाम नगरपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपलिका र माई नगरपालिका गरि चार नगरपालिका कार्यान्वयनमा आएको छ । त्यस्तै चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम, सन्दकपुर, माईजोगमाई र रोङ गाउँपालिकाहरुमा कार्यान्वयनमा आएका छन् ।

यो सँगै शुक्रबारदेखि नै लागु हुनेगरि इलाम नगरपालिकामा साविकका इलाम नपा, गोदक, सोयाक, बरबोटे, सुम्बेक, पुवामझुवा, साखेजुङ, माइपोखरीको वडा नं. १, २, ३, साङरुम्बाको वडा नं. १ देखि ६ र सिद्धिथुम्काको वडा नं. ७ समाहित भएका छन् ।

देउमाई नगरपालिकाको वडा नं. २ मा देउमाई वडा नं. १ र चमैताको वडा नं. ७ र ८ सिफारिस गरिएकोमा चमैताको वडा नं. ७ र देउमाईको वडा नं. १ र २ मिसिएर स्थानीय तह बनेको छ । यसैगरि देउमाई नगरपालिकाको वडा नं. ४ मा देउमाई वडा नं. २, ३, ४ सिफारिस गरिएकोमा देउमाईको वडा नं. ३ र ४ मिसिएर स्थानीय तह बनेको छ ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले माई नगरपालिकाको केन्द्र दानाबारीको शितली गोल्टार सिफरिस गरेकोमा राजपत्रमा भने साविकको दानाबारी गाविसलाई कायम गरेको छ । फाकफोकथुम गाउँपालिकाको केन्द्र फाकफोक ९ साप्तिनमा सिफारिस गरिएकोमा राजपत्रमा आमचोक गाविस तोकिएको छ ।

पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले आमचोकलाई पहिलो विकल्पको रुपमा सिफारिस गरेको थियो । यसै गरि फाकफोकथुम गाउँपालिकाको वडा नं. ६ मा एकतप्पाको १ देखि ४ र चमैताको वडा नं. ९ सिफारिस गरिएकोमा राजपत्रमा एकतप्पाको १ देखि ४ तथा चमैताको वडा नं. ८ र ९ हुने व्यवस्था गरिएको छ ।

चुलाचुली गाउँपालिकाको केन्द्र समेत हेरफेर भएको छ । चुलाचुली गाउँपालिकाको केन्द्र चुलाचुली ७ सिफारिस गरिएकोमा राजपत्रमा साविकको चुलाचुली गाविस हुने व्यवस्था गरिएको छ ।चुलाचुलीको बडा नं. ४ मा वडा नं. ७ र ८ हुने सिफारिस गरिएकोमा चुलाचुली वडा नं. ७ मात्र हुने व्यवस्था गरिएको छ ।

चुलाचुली गाउँपालिकाको वडा नं. ५ मा साक्फारा १, २ र चुलाचुली ९ सिफारिस गरिएकोमा चुलाचुली ८ र ९ मात्र हुने व्यवस्था गरिएको छ । चुलाचुली गाउँपालिकाको बडा नं. ६ मा साक्फाराको वडा नं. ३ देखि ९ सिफारिस गरिएकोमा साक्फाराको ९ नै वडा रहने व्यवस्था सहित राजपत्रमा प्रकाशित गरिएको छ ।

माङ्सेबुङ गाउँपालिकाको केन्द्र इभाङ ६ चतुरे सिफारिस गरिएकोमा राजपत्रमा साविकको इभाङ गाविस नै केन्द्र हुने व्यवस्था छ ।

रोङ गाउँपालिकाको वडा नं. ३ मा इरौटारको वडा नं. ३, ४ कोल्बुङको वडा नं. १, २, ५, ६, ७, ८  सिफारिस गरिएकोमा इरौटारको वडा नं. २,४ र कोल्बुङको वडा नं. १, २, ५, ६, ७, ८ हुने व्यवस्था गरिएको छ । यसैगरि सोहि गाउँपालिकाको वडा नं. ४ मा इरौटार २ र कोल्बुङको वडा नं. ३, ४, ९ सिफारिस गरिएकोमा इरौटारको वडा नं. ३ तथा कोल्बुङको ३, ४ र ९ हुने व्यवस्था छ ।

सन्दकपुर गाउँपालिकाको केन्द्र सिफारिस गरेभन्दा परिवर्तन भएको छ । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले देउराली बजारलाई केन्द्र सिफरिस गरेपनि राजपत्रमा साविकको माईपोखरी गाविस भवनलाई केन्द्र भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार