सप्तरी घटनाको छानबिन गर्न जनजाति महासंघको माग

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सोमबार सप्तरीमा प्रहरीले टाउको र छातीजस्ता संवेदनशील भागमा गोली हानी नागरिकको हत्या गरेको भन्दै घोर भत्र्सना गरेको छ ।
महासंघका अध्यक्ष जगत बरामले मंगलबार (आज) प्रेस विज्ञप्तरी जारी गर्दै सो घटना गम्भीर र अमानवीय रहेको बताएका छन् ।
महासंघले शान्ति सुरक्षाको नाममा कानूनविपरीत जथाभावी गोली चलाउने कार्य सबै प्रकारको जातीय विभेद उन्मूलन गर्ने महासन्धि, मानवअधिकारको विश्वव्यापि घोषणा पत्र र संविधानले प्र्रत्याभूत गरेको सम्मानजपूर्वक बाच्न पाउने अधिकार र लोकतान्त्रिक मूल्य मान्यता समेतको विपरीत रहेको जनाएको छ ।
महासंघले शान्तिपूर्ण तरिकाले विरोध जनाउन पाउने अधिकारको बर्खिलापमा सरकार र सम्बन्धित राजनीतिक दलहरु उद्धत देखिएको भन्दै आपत्ति प्रकट गरेको छ ।
महासंघले सप्तरी घटनाको तत्काल स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
यस किसिमको घटना दोहोरिन नदिन विशेष सावधनी र संयमता अपनाउन पनि महासंघले नेपाली सुरक्षा निकायसँग आग्रह गरेको छ ।
महासंघले संविधानसभाबाट संविधान निर्माण भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यकलगायत उत्पीडित समुदायको पहिचान र समानुपातिक समावेशी सिद्धान्त अनुसारका अधिकार सुनिश्चित हुन नसकेको भन्दै वर्षौदेखि बहिष्करण र उत्पीडनमा पर्दै आएको समुदायको मुक्ति र अधिकारका लागि एकजुट सबैसँग आग्र्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार