विमल दहाल
इलाम : सुनगाभा विकास संस्था इलामको ३३ साधारण सभा तथा नवौं अधिबेशन पुन धर्मप्रसाद दहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
२०३५ सालमा स्थापना भएको इलामकै जेठो संस्थाको उपाध्यक्षमा यसोदा देवान, सचिवमा कृष्ण श्रेष्ठ, सहसचिवमा अम्बिका कार्की र कोषाध्यक्ष महेश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । आगामी तीन वर्षका लागि सम्पन्न अधिवशनबाट सदस्यहरुमा सरला घिमिरे र शुशिला लामिछाने चयन भएको संस्थाका कार्यक्रम निर्देशक मधुसुधन श्रेष्ठले जानकारी दिए ।
यस अघि खुला शत्रमा संस्थाका सचिवको प्रगति प्रतिवेदन कार्यक्रम निर्दैशक मधुसुधन श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्क्ष महेश श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका तीन उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संस्थामा कर्तव्यनिष्ठ, असल तथा इमान्दारीता पूर्वक काम गरेको भन्दै संस्थाका लेखा प्रमुख शंकर आचार्य, सामुदायिक उत्प्रेरक सुभद्रा देवान र संस्थाका संस्थापक सदस्य अर्जुन श्रेष्ठलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनो संस्थाका अध्यक्ष धर्मप्रसाद दहाल, प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, संस्थाका सल्लाहाकार कृष्ण प्रसाद श्रेष्ठ लगायतले सम्मान प्रदान गरेका थिए ।
धर्मप्रसाद दहालको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहाकारहरु युद्धप्रसाद बैद्य, कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका निरोज खड्गी, माओबादी केन्द्रकी सिन्धु राई, गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल, एनसीडिसीका हिराकाजी घले, प्याग नेपालका भरत अधिकारी, मानव अधिकार मञ्च नेपालका पारश राई, महिला जागरण संघकी वसन्ती घतानी लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष यसोदा देवान तथा सञ्चालन संस्थाका सचिव कृष्ण श्रेष्ठले गरेका थिए ।