जमुनामा सामुदायिक मेलमिलाप समिति

नयाँ बुलन्द

जमुना : इलामको जमुनामा सामुदायिक मेलमिलाप समिति पुुुनर्गठन भएको छ ।

जिल्ला विकास समिति इलामको आयोजा, मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरण र जमुना गाउँ विकास समितिको संयोजनमा बिहीबार मेलमिलाप समिति पुनर्गठन भएको हो ।

भोजप्रसाद खतिवडाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । समितिका सदस्यहरुमा फूलमाया राई, इश्वरी भट्टराई, भरतकुमार थेवे, जितबहादुर साँवा, पासाङ शेर्पा, सीता कार्की, सोनाम तामाङ र विष्णुमाया तामाङ रहेका छन् । त्यस्तै गाविसका सामाजिक परिचालक संगीता खाम्दाक र गाविस सचिव वीरध्वज लिम्बू पदेन सदस्य रहने गरी समिति गठन गरिएको छ ।

मेलमिलाप एेन २०६८ र कार्यविधि २०७० बमोजिम प्रत्येक वडाबाट एक एक जना र ३३ प्रतिशत महिला समेटेर समिति गठन भएको हो ।

नवगठित समितिलाई ८ दिनको  ४० घण्टे तालिम आवासीय तालिम सञ्चालन गरिने छ । त्यसपछि समिति सञ्चालन र व्यवस्थापनका लागि ३५ हजार रुपैयाँ सहयोग समेत गरिने जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत राम योङहाङले जानकारी दिए ।

सामुदायिक मेलमिलाप समिति जमुनाका पूर्व अध्यक्ष भरतकुमार थेवेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत राम योङ्हाङले स्वागत सहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता पारस राई र नामसालिङ सामुदायिक विकास केन्द्रका सामाजिक परिचालन कार्यक्रम संयोजक अम्बर देवानले कार्यक्रमका लागि सहजीकरण गरेका थए ।

गाविस सचिव वीरध्वज लिम्बूले नवगठित समितिका  पदाधिकारीहरुहलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक संगीता खाम्दाकले गरेकी थिईन् ।

अहिले जिल्ला विकास समिति इलामको आयोजनामा जिल्लाको दुई वटा  गाउँ विकास समिति र एक नगरपालिकामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन हुनेछ । जमुना सहित माइपोखरी गाविस र इलाम नगरपालिकामा सो  कार्यक्रम सञ्चालन गरिने जिविसले जनाएको छ ।

अन्य गाउँ विकास समिति र नगरपालिकामा मानव अधिकार मञ्च नेपाल इलाम र मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग) मेचीको आयोजनामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसअघि  जमुनामा २०७० चैत २८ मा मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालको आयोजनामा सामुदायिक मेलमिलाप समिति गठन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार