काठमाडौं : मधेशब्यापी बन्द आह्वान गर्दै मधेशी मोर्चा पुनः आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानका कारण आज मधेश बन्द छ । बन्दका कारण देशभरकै जनजीवन प्रभावित भएको छ ।
मोर्चाका नेता कार्यकर्ताहरु सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ ।
सरकारले बिना सहमति स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् ।
बन्द आह्वान र विरोध प्रदर्शनले मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प भएको छ । यातायातका सवारी साधानदेखि पसल बजार बन्द गरिएका छन् ।
संविधान संशोधन नै नगरि सरकारले घोषणा गरेको चुनाव विरुद्ध आन्दोलनमा होमिएको मधेशी मोर्चाले हिजो मंगलबार साँझ मधेशब्यापी मसाल जुलुस प्रदर्शन गरेको थियो । निर्वाचन धोका हो भन्दै आन्दोलनको कार्यक्रम अनुसार पहिलो दिन मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरियो भने आज मधेश बन्द गरिएको हो ।
संशोधन अघि चुनावको औचित्य नभएको भन्दै चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको मोर्चाको आरोप छ ।