दानाबारीमा च्याउ खेती तालिम सुरु

वीरबहादुर पापो

दानाबारी : इलामको दानाबारीमा तीन दिने पराले च्याउ खेती तालिम सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद दानाबारीको आयोजनामा तालिम सुरु भएको हो । तालिममा विभिन्न १० वटा जातीय संस्थाका ५५ जनाको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई कृषि सेवा केन्द्रका प्राविधिक अनिलकुमार तिमल्सिनाले सहजीकरण गरिरहेका छन् ।

तालिम पश्चात सहभागीहरुलाई एकएक पोका च्याउको बीउ उपलब्ध गराईने महासंघले जनाएको छ । च्याउ उत्पादन गरी बिक्रीबाट स्थानीयलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाईएको छ ।

आयोजकका अध्यक्ष वीरु पापोको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामका अध्यक्ष राजु राईको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, जातीय संस्था तथा सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति कृष्ण खाकी, नेकपा एमालेका अध्यक्ष हेम लायो मगर, माओवादी केन्द्रका जंगबहादुर बस्नेत, वुद्धिजीवि मिना राई, मोहन नेम्बाङ, लोदिया प्रहरी चौकीका इन्चार्ज प्रसादकुमार कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ६८ प्रतिशत आदिवासी जनजातिहरुको बसोबास रहेको दानाबारीमा विपन्न समुदाय विकास कार्यक्रम अन्तरगतका १५ प्रतिशत रकम ४ वटा लक्षित समूहलाई दामासाहीमा रकम बाँडफाँड गरिएको प्रति आपत्ती जनाएका थिए । जनसंख्याका आधारमा रकम बाँडफाँड गर्नुपर्नेमा त्यसो नगरिएको आदिवासी जनजातिहरुको गुनासो छ ।

स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ मा सबै लक्षित समुदायले प्रत्यक्ष फाइदा पुग्ने गरी समुचित रुपमा बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार